IME Life
GBIME

बीमा उद्योगको बिकासका लागि बीमा कलेजको आवश्यकता र त्यसको मोडेल

SPIL
NIC ASIA new
NLIC

पृष्ठभूमि : बीमा वित्त शास्त्र, अर्थशास्त्र, गणित र तथ्यांकशास्त्रको संयोजनबाट जन्मेको एक जटिल र बिशिष्टकृत शास्त्र हो भन्दा अत्युक्ति नहोला । बीमा बिषय अन्तर्गत धेरै उपविधाहरु छन् जसले बीमालाई निकै क्लिष्ट बनाएको छ । बीमा एक जटील बिषय र व्यवसाय भएको हुंदा यस क्षेत्रमा काम गर्ने जनशक्तिलाई बिशेष खालको शिक्षा, ज्ञान र सीपको आवश्यकता पर्दछ । यो अन्तर्राष्ट्रिय व्यवसाय भएकोले विदेशी बजारको बारेमा राम्रो जानकारी राख्ने र बीमाका असल अभ्यासहरुलाई अनुशरण गर्न सक्ने क्षमतावान् व्यक्तिहरुको आवश्यकता पर्दछ ।

बीमा क्षेत्रका लागि आवश्यक पर्ने जनशक्तिको उत्पादनका लागि सामान्य बिषयको अध्ययनबाट संभव नहुने भएकोले विश्व भरीनै बिशेष खालका कलेज वा एकेडेमीहरुको स्थापना गरिएको छ । नेपालमा भने विश्वविद्यालयमा उपलब्ध बीमा बिषयको एक दुई पेपर अध्ययन गरेको भरमा बीमाको ज्ञान प्राप्त गरेको महशुश गरी जिम्मेवारी बहन गर्ने काम भइरहेको छ । आजसम्म नेपालमा बीमा सम्बन्धी बिशिष्टीकृत पढाईको व्यवस्था नभएकोले बीमा क्षेत्रमा कार्यरत अधिकांश जनशक्तिले काम गरेरै मात्र बीमाको बारेमा सिक्नु पर्ने बाध्यता रही आएको छ । सात दशक लामो बीमा उद्योगको इतिहास हेर्दा अपेक्षाकृत रुपमा बीमाको बिकास हुन नसक्नुका धेरै कारणहरु मध्ये बीमा दक्ष जनशक्तिको अभाव पनि मुख्य कारण हो भन्दा अत्युक्ति नहोला । बीमाको सर्वांगिण बिकासको लागि बीमाका सबै पाटा र पक्षहरुको बारेमा अध्ययन अनुसन्धान गर्ने र व्यवसायिक जनशक्ति उत्पादन गर्ने एक सशक्त शैक्षिक संस्थाको अभाव आज सम्म खट्किएकै छ ।

Crest

दश जनशक्तिको अभावका कारण नियमनकारी निकायले पनि सोचे जस्तो नियमन गर्न नसक्नु र कम्पनीहरुले पनि चाहे जति नाफा आर्जन नसक्नु, आम उपभोक्तले चाहे जस्तो सेवा प्राप्त गर्न नसक्नु र राज्यले पनि बीमा उद्योगको तर्फबाट जे जति सहयोगको अपेक्षा गरेको छ सो बराबरको योगदान नपाउनुलाई केवल संयोगको रुपमा मात्रै लिनु भन्दा हाम्रो देशको बिडम्बना नै हो भन्नु पर्ला कि ?

विगतलाई संझेर पश्चातापमा जल्नु भन्दा आगामी दिनमा बीमा उद्योगलाई आवश्यक व्यवसायिक, दक्ष र सशक्त जनशक्ति उत्पादनको लागि बीमा समितिको पहलमा सबै बीमा कम्पनीहरुको सहभागितमा कुनै एक स्वदेशी विश्वविद्यालयसंगको समन्वयमा बीमा क्षेत्रका मुर्धन्य ब्यक्तित्वहरुको सहयोगमा एक शैक्षिक संस्थाको जन्म हुनु पर्दछ भन्ने मान्यता राखी यो सानो लेख यहांहरु सामू पेश गर्ने जमर्को गरेको छु । र विव्दत्वर्गबाट यथोचित पहल हुनेछ भन्ने विश्वास पनि लिएको छु ।

अन्तर्राष्ट्रिय अभ्यास

बीमा उद्योग आ आफ्नै ऐन नियम र कानूनबाट निर्देशित हुने, देशको आफ्नै सामाजिक, राजनैतिक संरचनाबाट निर्देशित हुने भएकोले घरेलु बिषयको साथसाथै अन्तर्राष्ट्रिय विषयमा पनि दक्षता हासिल गर्ने उद्देश्यले सोही अनुसारका कोर्षहरुको अध्यापन गराइन्छ । विकसित देश हुन् वा बिकासशिल देश हुन् सबैले बीमा उद्योगको प्रबद्र्धन र सुशासनको लागि, नियमन र सुपरिवेक्षणलाई सशक्त बनाउनको लागि, बीमा बजारका स्वस्थ्य प्रतिस्पर्धा कायम गर्दै र आम जनतामा बीमाको पहूंचका लागि बीमा कलेज वा बीमा एकेडेमी वा इन्स्टिच्युटको स्थापना गरी स्तरीय अध्ययन अनुसन्धान कार्य गर्दै आएका छन् । भारत, बंगलादेश, श्रीलंका, चीन, सिंगापुर, जापान, मलेशिया देखि क्यानाडा, बेलायत, अमेरिका जस्ता मूलुकमा बीमाको खास अध्यापनका लागि अलग्गै संस्था स्थापना गरिएको छ । एकै देशमा फरक प्रकृतिका बीमा तालीम केन्द्र देखि बिशिष्ट प्रकारको ज्ञान दिने सम्मका संस्थाहरु संचालनमा रहेका छन्् ।

क) आधारभूत तहको तालीम दिने संस्थाः कर्मचारीहरुको व्यवसायिक क्षमता अभिबृद्धिका लागि दिइने तालीमका लागि स्थापना गरिएका संस्थाहरु यस अन्तर्गत पर्दछन् । यस्ता संस्थाहरुको मुल उद्देश्य कर्मचारी, अभिकर्ता, दलाल, वा सर्भेयरहरुलाई आफ्नो जिम्मेवारी प्रति अभिमुखिकरण गर्नु हो । प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) ले निजामाति कर्मचारीहरुलाई र  Insurance Institute Nepal ले बीमा कम्पनीमा कार्यरत व्यक्तिहरुलाई आभिमुखीकरण गर्दछन् । यस्ता तालीमहरु एक दिने देखि बढीमा एक हप्तासम्मका हुने गर्दछन् । यस्ता संस्थाहरु जनशक्ति उत्पादनको योगदानको रुपमा हेर्दा आधारभूत तहमा पर्दछन् ।

ख) सर्टिफिकेशन तालीम दिने संस्थाः यी संस्थाहरुको उद्देश्य बीमा उद्योगमा प्रोफेसनालिज्मको बिकास गर्ने हो । यस्ता संस्थाहरुको तालीमको अवधि एक महिना देखि ६ महिना सम्मको हुन्छ, कतिपय संस्थाले स्व अध्ययनबाट परीक्षा लिने गर्दछन् र सोही आधारमा सर्टिफिकेट वा डिप्लो सरहको प्रमाणपत्र दिने गर्दछन् । भारतको मुम्बई स्थित भारतीय बीमा संस्थानले दिने कोर्षहरु एशोसियट्स, लाइसेन्सियट, र फेलेशिप सर्टिफिकेशन यसै अन्तर्गतको शिक्षामा पर्दछन् । विश्वमा अधिकांश बीमा नियमनकारी निकायले बीमा क्षेत्रमा काम गर्नु अघि अनिवार्य रुपमा यस्तो कोर्ष गर्नै पर्ने नियम समेत बनाएका हुन्छन् । जस्तो कि भारतमा सन् २००० मा अभिकर्ता हुनको लागि कम्तिमा १०० घण्टाको कोर्ष गर्नूृ आवश्यक थियो जुन हाल घटाएर ५० घण्टा बनाइएको छ । बेलायतमा चार्टर्ड इन्सुरेन्स इन्स्टिच्युटले एशोसियट्स र फेलोसिप लेभलको डिग्री उपलब्ध गराउछ । अमेरिकामा द इन्स्टिच्युट र लोमा जस्ता संस्थाले बीमाका बिबिध बिषयहरु जस्तो कि डिप्लोमा इन अण्डराइटिङ्ग, डिप्लोमा इन मरिन इन्सुरेन्स, डिप्लोमा इन फाइनान्सियल प्लानिङ्ग, डिप्लोमा इन जनरल इन्सुरेन्स इत्यादि उपाधी दिने गरेको छन् । यी प्रोफेसनल कोर्ष बीमा उद्योगमा काम गर्नका लागि निकै सहयोगी हुन्छन् । यी उपाधी विश्वभरिनै मान्य पनि छन् । यस्ता उपाधी आर्जन गर्नु आर्थिक रुपमा निकै खर्चिलो हुने भएकोले अधिकांश नेपालीहरुको पहूंच बाहिर रहेको छ ।

ग) एक्चुरियल साइन्स सम्बन्धी संस्थाः विश्वभरी नै बीमा क्षेत्रको सबैभन्दा महत्वपूर्ण र सम्मानित डिग्रीको रुपमा एक्चुरियल साइन्सलाई लिइन्छ । यो विषयको अध्ययन गर्ने जनशक्तिको संख्याको आधारमा कुनै पनि बीमा उद्योगको बिकासको उचाई वा गहिराइको मापन गर्ने गरिन्छ । एक्चुरिको मुख्य जिम्मेवारी बीमा कम्पनी, पेन्सन फण्ड, सामाजिक सुरक्षा फन्ड जस्ता दिर्घकालीन दायित्व बहन गर्ने संस्थाहरुको जोखिमको मूल्यांकन गर्ने र प्रडक्ट डिजाइनमा सहयोग गर्ने नै हो । हरेक बीमा कम्पनीलाई एक्चुरिको आवश्यकता पर्दछ तर नेपालमा विदेशी नागरिकहरुबाट यसको परिपूर्ति हुंदै आएको छ । आगामी दिनमा नेपाली नागरिकबाटै एक्चुरिको सेवा पाउने गरी आवश्यक तयारी हुनेछ भन्ने आशा गरौं । हाल त्रिभुवन विश्वविद्यालयले गणित बिज्ञान स्कुलमा स्नातक तहको अध्यापन हुंदै आएको छ जुन पढाईले बिद्यार्थीहरुको एक्चुरियल साइन्स अध्ययनका लागि फाउण्डेशन तयार गरेको छ । नेपालमा एक्चुरियल साइन्सको अध्ययनका लागि सरकारले ऐन पास गर्नु पर्दछ र सो को लागि विश्वविद्यालय र बीमा समितिको सहकार्य पनि उत्तिकै आवश्यक हुन्छ ।

घ) प्राज्ञिक तथा प्रोफेसनल कोर्ष अध्यापन सम्बन्धी संस्थाः विश्वविद्यालयले मान्यता दिएका बीमा सम्बन्धी कोर्षहरु बीमा नियमनकारी निकाय वा कलेजहरु स्वयंले पनि संचालन गर्न सक्दछन् जुन विश्वका प्राय सबै मूलुकहरुमा अभ्यासमा रहेको छ । भारतमा मात्रै ५० भन्दा बढी कलेजहरुमा जोखिम व्यवस्थापन र बीमा बिषयमा स्नातक र स्नातकोत्तर तहको अध्यापन हुन्छ भने झण्डै ४०० कलेजहरुमा बीमा बिषयलाई पाठ्यक्रममा राखिएको छ ।  बीमा नियमनकारी निकाय र बीमा कम्पनीको पहलमा नेशनल इन्स्युरेन्स एकेडेमीले पुना विश्वविद्यालयसंग सहकार्य गरेर पोष्ट ग्राजुयट डिप्लोमा कोर्ष, स्नातकोत्तर र पि यचडी कार्यक्रम संचालन गर्दै आएको छ । चिनमा पेकिग विश्वविद्यालय लगायत दर्जनौं विश्वविद्यालयहरुमा बीमा विषयमा स्नातक र स्नातकोत्तर डिग्री उपलब्ध छ । अन्य बिकासित राष्ट्रहरु जस्तो अमेरिका, क्यानडा, जापान, कोरिया, बेलायतमा पनि बीमा बिषयमा एकेडेमिक र प्रोफसनल कोर्षहरु संचालनमा छन् जसले बीमा क्षेत्रको लागि आवश्यक मध्यम र उच्च व्यवस्थापन तहका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गर्दछन् । नेपालमा पनि पोखरा विश्वविद्यालयले BBA Banking and Insurance नामक ४ वर्षे स्नातक तहको कोर्ष संचालन गर्दै आएको छ । बीमा सम्बन्धी पर्याप्त मात्रामा सामग्री राख्न सक्ने हो भने यो कोर्षले केही हदसम्म माग पूरा गर्न सक्छ तर यी कोर्षहरुमा प्राक्टिकल ज्ञानको कमी भने खट्किएको छ ।

प्रस्तावित बीमा कलेजको मोडल

नेपालमा अल्पकालीन तालीमको ब्यवस्था गर्नका लागि नेपाल बीमा इन्स्टिच्युट (Insurance Institute Nepal को स्थापना भएको छ  जसले नयां तथा पुराना कर्मचारीहरुको इन हाउस तालीमको आवश्यकता पुरा गर्दै आएको छ । यस बाहेक कुनै त्यस्तो संस्था छैन जसले बीमाको आधारभूत, मध्यम उच्च तहको ज्ञान दिने गरी बिशिष्टकृत कार्यक्रम संचालन गरेको होस् । देशलाई माथि उल्लेख गरे अनुसार प्राज्ञिक तथा प्रोफेसनल कोर्ष अध्यापन सम्बन्धी संस्थाको आवश्यकता छ । उक्त संस्थाको नाम नेपाल कलेज अफ इन्सुरेन्स हुन सक्दछ जसले कम्तिमा पनि एक वर्षे पोष्ट ग्राजुयट डिप्लोमा कोर्ष संचालन गरोस् र क्रमशः स्नातकोत्तर तहको कोर्ष र पियचडि कोर्ष पनि शुरु गरोस् । यस कलेजले व्यवहारिक ज्ञानका लागि बिभिन्न विदेशी बीमा कम्पनीहरुमा इन्टर्नसिपको लागि व्यवस्था मिलाओस् र बिदेशी बीमा कम्पनीहरुसंग समेत सहकार्य गरी उच्च स्तरको बीमा शिक्षा नेपालमा प्रदान गर्न सकोस् ।

यसको लागि बीमा समितिको पहलमा नेपालको कुनै एक विश्वविद्यालयबाट अनुबन्ध गरी कलेजको स्थापना गर्न सकिन्छ । आर्थिक सहयोग आवश्यक परेमा बीमा कम्पनी र नीजि लगानीकर्ताहरुबाट पनि जुटाउन सकिन्छ । बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई अध्ययनका लागि बिशेष आरक्षण सिटको व्यवस्था गर्ने र बांकी सिटमा बीमा क्षेत्रमा करियर बनाउन चाहनेहरुलाई भर्नाको अवसर दिनु पर्दछ ।  यो एकेडेमिक तथा प्रोफेसनल डिग्री हुने भएकोले विद्यार्थीहरुलाई माथिल्लो एकाडेमिक डिग्री लिनलाई पनि सहज हुन्छ भने करियरको बिकासमा पनि निकै ठुलो योगदान पुग्दछ । नेपालको बीमा कलेजलाई अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय तथा पुनर्बीमा कम्पनीको च्यारिटी फाउण्डेशनहरुले पनि सहयोग गर्नेछन् किनकी उनीहरुले नेपालबाट जे जति बिजनेस पाइरहेका छन् सो को निश्चित प्रतिशत रकम नेपालको जनशक्ति बिकासमा खर्च गर्ने नै छन् । जहां इच्छा त्यहां उपाय भने झैं बीमा समितिले चाहेकोे अवस्थामा विश्वका जुनसुकै बीमा सम्बन्धी संस्थाहरुबाट सहयोग लिन सक्दछ । भविष्यमा यो संस्था बीमा क्षेत्रको एक अनुपम शैक्षिक तथा अनुसन्धानमूलक संस्था हुनेछ, बिश्वका उत्कृष्ट प्राज्ञिक र व्यवसायिक ब्यक्तित्वहरुलाई पनि आकर्षण गरी नेपालको मात्रै होइन विश्वकै बीमा उद्योगको लागि सक्षम जनशक्ति उत्पादन गर्ने हैसियत राख्नेछ ।

आगामी दिनमा नेपालको बीमा क्षेत्रले थप रोजगारीको अवसर सिर्जना गर्न सक्ने संभावनाहरु छ जस्तो कि तेश्रो पक्ष सहजकर्ताको स्थापना हुनेछ, बीमा दलाल, पुनर्बीमा दलाल, तथा बीमा कम्पनीहरुले लाइसेन्स पाउने छन्, बिशिष्टकृत बीमा कम्पनीहरु जस्तो माइक्रोइन्सुरेन्स, हेल्थ इन्सुरेन्स, एग्रिकल्चर इन्सुरेन्सहरु कम्पनीहरु स्थापना हुन सक्ने संभावना पनि उत्तिकै छ । नयां तालीम केन्द्रहरु स्थापना हुनेछन् साथै बीमा कलेजको संख्यामा पनि बृद्धि हुनेछ । त्यस्तो अवस्था दक्ष जनशक्तिको थप आवश्यकता पर्नेछ । दक्ष जनशक्तिले बीमको बजारलाई  बिस्तार गर्नेछ र बजार बिस्तार भए पछि पुनः दक्ष जनशक्तिको आवश्यकता पर्नेछ । यो सहसम्बन्धको परिणाम स्वरुप बीमा उद्योगको बिकास र प्रबद्र्धन हुनेछ । नयां वर्ष २०७८ बीमा उद्योगको लागि शुभ रहोस्  ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS