काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले इन्साइडर कारोबार गरेको विषयमा उजुरी परे पछि नेपाल धितोपत्र बोर्डले निर्देशकको संययोजकत्वमा उपसमिति गठन गरेको छ । अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अघि नै धितोपत्र कारोबारमा बृद्धि भएको भन्दै बोर्डमा गुनासो आए पछि अध्ययन गर्ने भएको हो ।
विभिन्न सञ्चार माध्यममा कम्पनीले भित्री कारोबार गरेको भन्दै समाचार सम्प्रेषण पछि ध्यानाकर्षण भएको बोर्डले जनाएको छ । सञ्चार माध्यममा यस्ता समाचार आए सँगै बोर्डले चैत १८ गते कम्पनीको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबार सम्बन्धि विवरण पेश गर्न नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गरेको थियो ।
कम्पनीले चैत १९ गते नेपाल स्टक एक्सचेन्जमा हकप्रद शेयर निष्कान गर्ने सूचना दिनु अगाडि नै दोस्रो बजारमा सर्किट लागेको बोर्डले जनाएको छ । नेप्सेले बोर्डलाई चैत १६ गतेको कारोबारमै १० प्रतिशत बृद्धि भइ सर्किट लागेको विवरण पेश गरेको छ ।
यसै सन्दर्भमा उल्लेखित कारोबारका सम्बन्धमा थप अध्ययन अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्डले बोर्डका निर्देशकको संयोजकत्वमा आजै एक उपसमिति गठन गरी जाँचबुझ कार्य अगाडि बढाइसकेको सह प्रवक्त रुपेश केसीले जनाएका छन् । यस सम्बन्धमा कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने बोर्डले जनाएको छ । साथै धितोपत्र बजारमा स्थापित मूल्य मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न बोर्डले अनुरोध गरेको छ ।
अजोड इन्स्योरेन्स