काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी दुई अर्बभन्दा बढि भइसकेको छ । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुस २० गतेसम्म दुई अर्ब दुई करोड एक लाख रुपैयाँ दावी भुक्तानी २० हजार ७७५ जनाले बुझेका छन् ।
बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार कूल ४१ हजार १४७ जनाको फाईल प्रमाणिकरण गरिएको छ भने सात हजार २५४ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पेण्डिङ रहेको छ । त्यस्तै, दुई हजार ५१२ वटा फाईल सम्बन्धित बीमा कम्पनीमै आवश्यक कागजात पुरा गर्न निर्देशन सहित फिर्ता गरिएको छ ।
बीमा समितिका अनुसार हालसम्म १६० जनाले दोहोरो बीमा गराई दोहोरो दावी भुक्तानी लिन खोजेको देखिएकोले उनीहरुले दावी भुक्तानी नपाउने गरी फाइल बन्द गरिएको छ । कोरोना बीमा पुलमा प्रमाणिकरणको क्रममा छ हजार ७४५ वटा फाइल रहेको बीमा समितिले बीमा पुलमार्फत प्राप्त तथ्याङ्कलाई आधार मानेर जनाएको छ ।