काठमाडौँ । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले मंसिर १२ गते, शुक्रबारबाट प्रति इकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री खुल्ला गरेको हो । जसमध्ये, १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई छुट्याइएको छ भने बाँकी ४ करोड २५ लाख इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिनेछ । जसमध्ये पहिलो चरणमा १ करोड २५ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गरेको छ । लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।