काठमाडौं । जनरल इन्स्योरेन्सका महाप्रबन्धक एसके टमोटले थप गरिएको तीन महिना लामो कार्यकालमा काम गर्न अनिच्छा देखाएका छन् । उनले भोलिबाट करार अवधी सकिने भएकोले अब थप गरिएको समय काम नगर्ने इच्छा व्यक्त गरेको जनरल इन्स्योरेन्स कम्पनी स्रोतले जनाएको छ ।
टमोटले आफू जनरल इन्स्योरेन्स कम्पनीमा आजबाट समयावधी सकिने भन्दै बीमा कम्पनीहरुका सिईओहरुको क्लव समेत लेफ्ट गरेका छन् ।
तर, जनरल इन्स्योरेन्स कम्पनीको यही कार्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले सो कम्पनीका वर्तमान महाप्रबन्धक टमोटलाई ३ महिना कार्यकाल थप गर्ने निर्णय गरेकोले सो को जानकारी नेप्सेमा समेत पठाइसकेको छ । सञ्चालक समितिले अर्को सिईओ नियुक्त नहुन्जेल तीन महिना काम गर्न आग्रह गरिरहेको भएपनि टमोट भने कोभिड तथा आफ्नो स्वास्थ्यस्थितिका कारण काम गर्न नसक्ने जानकारी बोर्डलाई गराएको स्रोतले जनाएको छ ।