काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको बुधवार सम्पन्न विशेष साधारण सभाले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपातमा प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले काठमाडौंको दरबारमार्गस्थित रजिष्टर्ड कार्यालयमा भिडियो कन्फ्रेन्स मार्फत विशेष साधारण सभा आयोजना गरेको थियो । सभामा शेयरधनीहरुलाई जुम मार्फत सहभागी गराइएको कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेसको १०० कित्ता शेयर बराबर आफ्नो ३० कित्ता शेयर आदानप्रदान गर्ने गरी गत भदौ १७ गते यी दुई कम्पनी बीच सम्झौता भएको थियो । उक्त सम्झौतालाई समेत सभाले पारित गरेको छ ।
प्राप्ति पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि हुने तथा शेयर स्वामित्व पनि फेरबदल हुने हुदाँ सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधनको प्रस्ताव पनि सभाले पारित गरेको छ ।
सिटि एक्सप्रेसले पनि बुधवारनै विशेष साधारण सम्पन्न गरी नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । प्राप्ति प्रयोजनका लागि सिटी एक्सप्रेसको शेयर कारोबार गत पुस २८ गतेदेखि रोक्का रहेको छ । अब एकीकृत कारोबार शुरु गरेपश्चात नेपाल इन्भेष्टमेण्ट बैंकको नामबाट सिटी एक्सप्रेसका लगानीकर्ताहरुको शेयर कारोबार हुनेछ ।
अब नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले एकीकृत कारोबारका लागि स्वीकृति दिएपछि मात्र एकिकृत कारोबारशुरु हुने छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरपूँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रहेको छ भने सिटी एक्सप्रेसका भने ४० करोड रहेको छ ।