काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओमा कूल छ लाख ९ हजार जनाको आवेदन परेको सो कम्पनीले जनाएको छ ।
कूल ६३ लाख कित्ता आईपिओ जारी गरेकोमा कर्मचारी र म्युचुअल फण्डलाई १० प्रतिशत छुट्टाएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणले खरिद गर्न पाउने गरी जारी गरिएकोमा सो संख्यामा आवेदन परेको कम्पनीले जनाएको छ । साथै यसअघिको समेत प्रवृत्ति हेर्दा केही हजार आवेदन रद्द हुनसक्ने हुँदा शेयर नपाउनेको संख्या अझै घट्ने विश्वास गरिएको छ ।
१० कित्ताका दरले आईपिओ वितरण गर्दा प्रारम्भिक विवरण अनुसार ४१ हजार ५०० जनाले रिलायन्स लाईफ इन्स्योरेन्सको शेयर पाउने छैनन् । कम्पनीले यही भदौ. ४ गतेदेखि जारी गरेको आईपिओ ८ गते बन्द गरेको थियो । मेरो शेयर अनलाईन तथा बैंकबाट समेत गरी सो संख्यामा आवेदन परेको कम्पनीले बिज्ञप्तिमार्फत जनाएको छ ।
१०० दरका शेयर माग भन्दा ३.८५ गुणा बढि आवेदन परेको थियो । कम्पनीले आज एक बिज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाका बीचमा उत्साहका साथ शेयर आवेदन प्रक्रिया सम्पन्न गरेकोमा बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि.,सानिमा क्यापिटल, लगायतप्रति आभार प्रकट गरेको छ ।