काठमाडौं । सरकारले गरेको लकडाउनको कारण विगत एक सातादेखि अधिकांश निर्जिवन कम्पनीहरुको कार्यालय बन्द छ । सबै बीमा कम्पनीहरुले कर्मचारीहरुलाई घरैबाट काम गर्न अनुमति दिइसकेका छन् । नेपालमा निर्जिवन बीमा व्यवसाय गर्ने २० वटै कम्पनीहरुको अधिकांश काम कर्मचारीहरुले घरैबाट गर्दै आएका छन् ।
माथिल्लो पदमा कार्यरत तथा डिजिटल कार्यालयका कर्मचारीहरुले आफ्नै निवासमा आफू कार्यरत बीमा कम्पनीको कार्यालय स्थापना गरेरै काम गरिरहेका छन् । ल्यापटप तथा कम्प्युटर र फोनमार्फत उनीहरुले बीमा कम्पनीको कार्यालय जीवन्त बनाइरहेका छन् ।
टेलिफोन तथा इमेलबाट बीमा नविकरण तथा नयाँ बीमा पोलिसी जारी गर्नेदेखि बीमा दावी भुक्तानीको काम समेत डिजिटल कार्यालयबाट हुने गरेको छ । कुनै घटना भई तत्काल बीमा दावी भुक्तानी गर्नुपरेको अवस्थामा पनि डिजिटल कार्यालयमा सबै प्रमाण जुटाईसकेपछि प्रमाणिकरणको लागि आवश्यक भएको अवस्थामा मात्रै बीमा कम्पनीका कर्मचारीहरुलाई परिचालन गरिएको छ । लकडाउन गरिएको आज एक साता पुगेको छ, पुनः लकडाउन थप गर्न सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बसिरहेको छ ।
यस्तो सन्दर्भमा आम बीमितहरुलाई सजिलो होस् भन्ने उद्देश्यले २० वटै बीमा कम्पनीहरुको डिजिटल कार्यालयमा सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले सबै कम्पनीहरुको डिजिटल कार्यालयको सूचना यहा प्रस्तुत गरिएको छ ।