काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । नेप्से १३ दशमलव ५० अंकले बढेर १,२६९ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७३ कम्पनीको ५१ लाख ६ हजार ६ सय ८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९० करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।
ट्रेडिङ, होटल, विकास बैंक, फाइनान्स र उत्पादनमूलक क्षेत्र बाहेक अन्य समूहहरुको सूचकमा हरीयाली छाएको छ। शेयर बजारमा सबैभन्दा बढी जीवन बीमा समूह १४० अंकले उकालो लागेको छ भने निर्जिवन बीमा ७७ अंकले उकालो लागेको छ ।
सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको शेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३१ करोड ३० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ३१ लाख र एनआईसी एशीया बैंकको ९ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छ भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।