काठमाडौं । दुई निर्जिवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेनसले जारी गर्न लागेको हकप्रद शेयरलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । बोर्डले एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई कूल ७६ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातमा ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । अनुमतिसँगै सो कम्पनीले चाँडै हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ । हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसारकै १ अर्ब २ करोड पुग्नेछ । कम्पनीले हकप्रद शेयर बिक्रीका लागि एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको ६० प्रतिशत हकप्रद शेयर निष्कानशको लागि पनि बोर्डले अनुमति दिएको छ । ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीले ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो । सो इन्स्योरेन्सले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा दिइसकेको छ ।