काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ७० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ८ गतेदेखि खुला भएको उक्त हकप्रदमा आज असोज १२ गते आइतबारसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १०ः७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
साउन २८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । कम्पनीले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीबाट १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।
हकप्रद शेयर बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । त्यस्तै, सूर्याको वीरगञ्ज, नारायणघाट, विराटनगर, धरान र बुटवल शाखाबाट पनि आवेदन दिन सकिनेछ । पोखरा, सुर्खेत र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले अघिल्लो वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर पनि वितरण गरिसकेको छ । १२ प्रतिशत बोनस र ७० प्रतिशत हकप्रदपछि चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ ।