काठमाडौँ । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा आजदेखि काठमाडौंमा फर्निचर तथा फर्निसिङ् फर्नेक्स एक्स्पो सुरु भएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको मेलामा आउनसक्ने जोखिमका लागि आठ करोड रुपैयाँको बीमा गरिएको इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले इन्स्योरेन्सखबरलाई बताए ।
बुधबारदेखि सुरु भएको मेलामा राखिएको स्टलहरुको बीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीमा गरिएको कम्पनीले जनाएको छ । समग्र एक्स्पोको आठ करोड बराबरको बीमा गरिएको र प्रतिस्टल एक लाख रुपैयाँ बीमा गरिएको आयोजक कम्पनीका प्रधानले बताए ।
प्रर्दशनमा राखिएका स्टलहरुको जोखिम सुरक्षणको लागि बीमा गरिएको प्रधानको भनाई छ । यसअघि नाडा अटो शोमा जम्मा ८० लाख रुपैयाँको बीमा गराइएको थियो । उक्त रकम पनि सिद्धार्थ इन्स्योरेन्सको स्टल राखेर हिसाब मिलान शैलीको भएपनि यस पटकको बीमा भने प्रभावकारी रुपमा गरिएको छ ।
एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना गरिएको बताए ।
पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय २० हाराहारीमा फर्निचर र फर्निसिङ्जन्य सामग्रीका स्टल छन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ ।