व्यापार घाटा कम गर्न निर्यात योग्य बस्तुको पहिचान गरी प्रवर्द्धन गरौं

491

राजन बिक्रम थापा

धेरै समयपछिको राजनैतिक अस्थिरता पश्चात मुलुकमा झण्डै दुइतिहाईको सरकार बनेपछि नेपालको अर्थतन्त्र तुलानात्मक रुपमा गतिशील देखएको छ । पछिल्लो तीन वर्षको आर्थिक बृद्धिदर आशा लाग्दो संकेत बनेको छ भने उर्जा क्षेत्रमा तुलनात्मक प्रगतिको महसुस गरिएको छ ।

पछिल्लो समय नेपालमा लोडसेडिङको अन्त्य भएको छ । सर्वसधारणमा फेरि दोहारिएला कि भन्ने त्रास घटेको छ । प्रतिपक्षको शक्ति र भुमिका कमजोर हुँदै गएका कारण बन्द हडतालको संख्या र प्रभाव पनि घट्दै गएको छ । सरकारले चालु बर्षमा आर्थिक बृद्धिदर ८ दशमलव ५ प्रतिशत प्रक्षेपण गरेको छ भने सामाजिक सुरक्षा र रोजगारीको क्षेत्रमा पनि निकै महत्वकांक्षी योजनाहरु सार्वजनिक गर्दै कार्यान्वयनको प्रयास गरेको छ ।

अर्थतन्त्रले तुलनात्मक गति लिएपनि जनताले जुन अपेक्षा र चाहनाका साथ स्थीर सरकारको परिकल्पना गरेका थिए त्यसको फेरसम्म पनि समात्न सकेको छैन् । विप्रेषणलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड मानेर अन्य बैंकल्पिक र दीगो स्रोतको व्यवस्थापन गर्न नसक्दा त्यसले अब क्रमशः नकारात्मक प्रभाव देखाउन थालेको छ । बढ्दो विप्रेषणले उत्पादनलाईभन्दा उपभोगलाई प्रोत्साहित गरेका कारण पछिल्लो समयमा बढ्दो व्यापार घाटाको रफ्तार चिन्ताको विषय बनेको छ ।

गत आर्थिक वर्षको एघार महिनाको अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १७ दशमलव ५ प्रतिशत र अमेरिकी डलरमा ८ दशमलव १ प्रतिशतले बढेको छ तर शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको छ ।

त्यस्तै, कुल वस्तु आयात १७.३ प्रतिशतले बढेर १२११ अर्ब पुगेको छ । अबको केही समयमा ब्यापार घाटाको क्रम नोरोकिए मुलुकको वार्षिक बजेटलाई पनि नाघेर जाने निश्चित छ । तत्कालको अवस्थामा नेपालले विश्व प्रतिस्पर्धाको वातावरणलाई जितेर बस्तु तथा सेवा निर्यात गर्न सक्ने अवस्था शुन्य प्रायः रहेको छ । यसका लागि दीर्घकालमा गर्न सकिने धेरै विषयहरु होलान् तर तत्काल गर्न सकिने विषयमा सरकार र सम्बद्ध सरोकावालाहरुको ध्यान जानु जरुरी छ ।

भूमण्डलीकरणको जमनामा मुलुकका लागि आवश्यक सबै उपभोग्य सामान आफै उत्पादन गर्न सम्भव अनि व्यवहारिक पनि हुदैन । सवै मुलुकहरुले आफ्नो तुलनात्मक लाभको क्षेत्र पहिचान गरी कुनै क्षेत्र वा उत्पादन विशेषमा नै लाग्नु राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने पक्षमा हुनसक्नेछ ।

नेपालको बैदेशिक व्यापारको संरचनालाई हेर्ने हो भने नेपालको दुइ तिहाइ भारतसँग नै केन्द्रीत रहेको छ । गत आ.ब.को एघार महिनाको अवधिमा कुल वस्तु निर्यात १८ दशमलव ७ प्रतिशतले वृद्धि भई ८७ अर्ब ८३ करोड पुगेको छ । गन्तव्यका आधारमा भारततर्फ ३३ दशमलव ३ प्रतिशत र अन्य मुलुकतर्फ १ दशमलव ५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७ दशमलव १ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैंंची, तयारी पोशाक, जुत्ता तथा चप्पल, छाला, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ । निर्यातको परिमाण उल्लेख्य नभएपनि आयातको बृद्धिदरलाई अतिकति भने पनि उछिनेको छ ।

निर्यातको बस्तु डालोमा धरै सामान परेका छैनन् तैपनि चाउचाउ, दाल र उनीका सामानको मागमा विस्तार हुँदै गएकोले त्यस्ता वस्तुको उत्पादन र बजारीकरणमा विशेष चासो दिनु आवश्यक देखिन्छ । तयारी पोशाक जुत्ता चप्पल, छाला र पश्मिनामा निर्यातको सम्भावना रहेका कारण त्यसको उचित प्रवर्धन आवश्यक देखिन्छ ।

आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा कुल वस्तु आयात १७.३ प्रतिशतले बढेर रु.१२९९ अर्ब ८० करोड पुगेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, एम.एस. बिलेट, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।

यसको सामान्य विश्लेषण गर्दा संरचनागत हिसाबमा आयाततर्फ भारतको एकाधिकार कम हुुँदै गएको देखिन्छ भने चीनतर्फको व्यापार फराकिलो हुने संकेत देखिएको छ । विदेशबाट आयात हुने प्रमुख वस्तुको सूचि निकै लामो हुने गर्दछ । अल्पकालमा व्यापारघाटा बढ्न नदिनको लागि तत्काल चाल्नुपर्ने कदम भनेको निर्यातमा संभवाना भएका वस्तुका सूचिहरु मध्येबाट केहि छनौट गरी व्यापार प्रवद्र्धनमा लाग्नु हो भने ।

आयात हुने सामानका सुचीहरुबाट अनावश्यक उपभोग्य सामानको आयातमा प्रत्यक्ष वा परोक्ष विधिबाट नियन्त्रणात्मक वा दुरुत्साहन कदम चाल्नु नै हो भने आफैले निर्यात गरिआएका बस्तु समेत अन्य मुलुकबाट ल्याएर उपभोग गर्नै प्रवृतिलाई निस्तेज गर्नु नै हो । जस्तै चाउचाउ, जुत्ता, चप्पल, दाल उनीका कपडा बस्तुहरु नेपाली नागरिकले नेपालमा पनि प्रयोग गर्ने र सकेसम्म बाहिरबाट ल्याउन निरुत्साहित गर्नु जरुरी छ यसमा कानुन र व्यवस्थाबाट भन्दा पनि नागरिकहरुमा स्वस्फुरण हुनु जरुरी छ ।

विद्युतीय उत्पदानको सम्भावनालाई शीघ्र अवसरको रुपमा बदल्न र बढि आयात हुने पेटोलियम पदार्थको आयातलाई नियन्त्रण गर्न विद्युतीय उर्जाबाट चल्ने सवारी र उपकरणहरुको प्रयोग गर्ने नीतिगत व्यवस्था र आवश्यक पूर्वाधार तयारीमा लाग्न ढिलाइ भैसकेको देखिन्छ । पछिल्लो समयमा नेपाल मै उत्पादन संभावना भएका सिमन्ट, चिनी लगायतका बस्तुको उत्पादनलाई प्राथमिकतामा राखी त्यस्ता बस्तुको आयातलाई निरुत्साहन गर्न आवश्यक देखिन्छ । संघीय राज्य प्रणाली कार्यान्वयनमा आइसकेको अवस्थामा सवै प्रदेशमा संभावनाको अध्ययन गरी नगदेवाली लगाउनका साथै, धान, मकै, गहुँ, आलु, माछा, मासु, अण्डा, फलफूल लगायतका दैनिक उपाभोग्य कृषि बस्तु निर्यात गर्ने भन्दामा स्वदेशमा नै उत्पादन गरी आयात प्रतिस्थापनको पक्षलाई जोड दिनु आवश्यक छ ।

नेपालमा लगानीको वातावरणप्रति देखिएको निराशा र अविश्वासको अवस्थालाई सवै पक्षले छिटो भन्दा छिटो सम्बोधन गर्न सकेमा उत्पादनको वातावरण बन्न जाने देखिन्छ । त्यस्तै पुँजि बृद्धिको लागि उपभोगका लागि भन्दा बचतका लागि जनतालाई प्रोत्साहन गर्न सकेमा आर्थिक समृद्धिको यात्रामा योगदान पुग्नेतर्फ सबैको ध्यान जानु आवश्यक छ ।
लेखक नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय बीरगन्जका कार्यकारी निर्देशक हुन् ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्