सिटिजन्स म्युचुअल फन्ड–२ मा आवेदन दिने आज अन्तिम दिन हो । सीबीआइएल क्यापिटलको व्यवस्थापनमा बजारमा सिटिजिन्स म्युचुअल फन्ड–२ को नयाँ योजना जेठ ९ गतेदेखि बिक्रीमा ल्याइएको हो । यस फन्डले कुल १० करोड इकाई (युनिट) निष्कासन गरेकामा १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको हो । सिटिजन्स म्युचुअल फन्ड–२ मा न्यूनतम १ सय इकाईदेखि अधिकतम २ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन गर्न पाइने व्यवस्था छ ।
लगानीकर्ताले सिटिजन्स बैंकको देशभरका शाखा तथा सीबीआइएल क्यापिटल, बाटुलेघर काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यसैगरी, आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ । सीबीआइएलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो स्कीम हो । हाल सिटिजन्स म्युचुअल फन्ड–१ सञ्चालनमा रहेको छ ।