काठमाडौं: ‘वित्तिय सुदृढिकरण विपत्त जोखिम वित्तीय व्यवस्थापन र बीमा’ भन्ने नाराका साथ बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा मंगलबारबाट सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा व्यवसायमा जोखिम विविधिकरण गर्न आग्रह गरेका छन् ।
“कुनै पनि एउटा क्षेत्रमा मात्र व्यवसाय केन्द्रीत हुँदा जोखिम हुन्छ” उनले भने, “त्यसैले बीमा व्यवसायको सकेसम्म विविधिकरण गर्नुहोस् ।” नेपालमा निर्जीवन बीमा कम्पनीको व्यवसायको ५० प्रतिशत मोटर बिमामा मात्र केन्द्रीत भएको भन्दै उनले यसलाई उद्योग, घर, हाउजिङ, कृषिलगायतका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने बताए ।
बीमा कम्पनीहरुको सेवा परम्परागत भएको र यसबाट सर्वसाधारणहरुलाई बिमा गर्न लामो समय लाग्ने र झन्झटिलो भएको भन्दै यसलाई सच्याउन अर्थमन्त्री खतिवडाले आग्रह गरे । “प्रविधिको प्रयोग गरेर बीमा गर्न र दावी भुक्तानी लिने प्रक्रियालाई सरलिकृत गर्नुपर्छ” उलने भने, “यसबाट मात्र बीमा क्षेत्रमा सर्वसाधारणलाई आकर्षित गर्न सकिन्छ”
अर्थमन्त्री खतिवडाले बिकाशोन्मुख राष्ट्रहरुको बीमा सम्बन्धी समस्याहरु एकै प्रकृतिको रहेको भन्दै सम्मेलनको निश्कर्ष महत्वपूर्ण हुने बताए ।
बीमा समिति र नेपाल बिमक संघको संयुक्त आयोजनामा विकासशील राष्ट्रहरुको बीमा कम्पनी र पुर्नबीमा कम्पनीहरुको संगठन (एआइआरडिसी) को २१ औं सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष यासिर अल्वाहर्नले विकासकोन्मुख देशहरुमा बीमा नियामक र कम्पनीहरुको समान समस्या रहेको र यसलाई साझा रुपमा समाधान गर्नका लागि संगठित भएको बताए । विकासोन्मुख देशमा मानवसिर्जित तथा प्राकृतिक विपत्ती पछिको जोखिम उत्तिकै रहेको र विपत्ती पछिको क्षतिमा बिमाको जोखिमलाई न्यूनिकरण गर्ने विषयमा एक अर्काको अनुभव प्रभावकारी हुने बताए ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले प्राकृतिक विपत्ती पछिको बीमा क्षती न्यूनकरणका लागि सम्मेलनमा महत्वपूर्ण छलफल हुने बताए ।
नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेले विकासशिल मुलकहरुमा बीमा व्यवसायको वृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
विपत्त जोखिम र वित्तीय व्यवस्थापन
विपत्त जोखिम र वित्तीय व्यवस्थापनका लागी बीमा उपयोगी हुने विभिन्न मुलुकका बीमा विज्ञहरुले बताएका छन् । सम्मेलनको पहिलो सत्रमा भएको ‘ विपत्त जोखिम र वित्तीय व्यवस्थापन’ बिषयमा छलफल गर्दे बहराईन, तान्जेनिय, श्रीलंका र नेपालका बीमा विज्ञले यस्तो धारणा राखेका हुन् ।
छलफलमा बीमा समितिका सल्लाहकार भोजराज शर्माले नेपालमा आतंकबाद बिमाका लागी निर्माण गरिएको आकस्मिक बीमा कोष अत्यन्तै सफल भएको बताए । द्धन्दको समयमा विदेशी पुर्नबीमा कम्पनीले पुर्नबिमा गर्न नमाने पछि सरकारको सहयोगमा कम्पनीहरुले आकस्मिक बिमा कोषको स्थापना गरेको उनले बताए । जुन अहिले पुर्नबिमा कम्पनीमा परिणत भएको छ । त्यसैगरी नेपालमा बीमाको पहुँच बढाउँन सरकारले तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ भने कृषि र लघुबीमालाई प्राथमिकतामा राखिएको छ । जसमा अनुदानको समेत व्यवस्था गरिएको उनले बताए ।
छलफलमा श्रीलंका जगतआलविसले श्रीलंकामा लघुबीमाको सुरुवात गरेपनि नेपालको जस्तो सफल नभएको बताए । ‘कतिपय अवस्थामा यो अलि महंगो पनि हुन्छ । वितरण प्रणाली अत्यन्तै कठिन छ,’ उनले भने । यद्यपी श्रीलंकामा मोवाईल बीमा सफल भएको उनले बताए । साथै तान्जेनियका उल्लरले बीमा व्यवसायलाई सफल बनाउँन सरकारको सहयोगको आवश्यकता पर्ने बताए । साथै कम्पनीहरुले क्याट फण्डको स्थापना पनि गर्नुपर्ने उनले बताए ।
जोखिम व्यवस्थापनमा स्वेदशी पुर्नबीमाको भूमिका
सम्मेलनको दोस्रो चरणमा ‘जोखिम व्यवस्थापनमा स्वेदशी पुर्नबीमाको भूमिका’ बिषयमा छलफल भएको थियो । उक्त छलफलमा नेपाल पुर्नबीमा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईले र नेशनल पुर्नबीमा कम्पनी फिलिपिन्सका अध्यक्ष अगस्टो हिडाल्डोले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यत्रप प्रस्तुत गर्दै नेपाल पुर्नबीमा कम्पनीका अध्यक्ष गुरागाईले नेपालका बीमा कम्पनीहरुको पूँजी बृद्धि भएसँगै खुद धारण गर्ने सक्ने क्षमताको पनि बढेको बताए । त्यस्तै, नेपालमा नै पुर्नबीमा कम्पनी स्थापना भै सकेको परिप्रेक्ष्यमा पुर्नबीमा बापत विदेशी रकम रोकिने क्रम बढेको उनले बताए । ‘त्यति मात्रै हामीले भारत लगायतका मुलुकबाट पुर्नबीमा व्यवसाय पनि भित्राएका छौ,’ उनले भने । यसले नेपालमा बीमा सम्बन्धी ज्ञान, पूर्वाधार, प्रविधि, लगानी, रोजगार विकासमा टेवा पुगेको उनले बताए ।
त्यस्तै, कार्यपत्र प्रस्तुत गर्दै नेशनल पुर्नबीमा कम्पनी फिलिपिन्सका अध्यक्ष हिडाल्डोले फिलिपिन्समा विश्व विकास बैंकमा सहयोगमा प्राकृतिक जोखिम बहन गर्नका लागी छुटटै कोष खडा भएको बताए । साथै यस सम्मेलनले विकासशिल राष्ट्रहरुको जोखिम न्यूनिकरणका लागी क्षमता बढाउँन महत्वपूर्ण भूमिका खेल्ने बताए । जलवायू परिवर्तन र विपद जोखिमलाई बीमा मार्फत कभरेज गर्न विश्व व्यायापी रुपमै सार्वजनिक, नीजि साझेदारी मोडेल अनुसार अगाडी बढ्नु पर्ने सुझाव दिए । यसको लागी सरकारी निकाय बीमा कम्पनी तथा नीजि स्तरबाटै सहयोग हुनुपर्ने उनको धारणा थियो ।