IME Life

बालबालिका लक्षित बीमा योजना

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः कुनै पनि अभिभावकका लागि संसारमा सबैभन्दा प्रिय केही छ भने त्यो सन्तान हो । त्यसैले त सन्तानको सुखका लागि हरेक अभिभावक हरदिन, हरपल संघर्षरत, प्रयत्नरत र सोचमग्न हुन्छन् । सामाजिक सुरक्षाअन्तर्गत पर्ने स्वास्थ्य र शिक्षा नेपालमा धेरै महँगो छ । तर, यसका लागि पहिल्यैबाट योजना बनाउन सकिन्छ । त्यस्तो योजनामा साथ दिन बालबालिकाको खासगरी उच्च शिक्षामा सहयोग पुग्ने गरी जीवन बिमा कम्पनीहरूले विभिन्न बिमा योजना सञ्चालनमा ल्याएका छन् ।

राष्ट्रिय बीमा संस्थान

Meta Holidays
Crest

वात्सल्य जीवन बीमा
यो अग्रिम भुक्तानी प्रकारको बिमा लेख हो । भर्खर जन्मेका बच्चादेखि ८ वर्षसम्मका बालबालिका यस योजनामा समावेश हुन सक्छन् । यो योजनाअन्तर्गत १ लाखदेखि ५ लाख रुपैयाँसम्मको बिमा गर्न सकिन्छ । बिमाशुल्क तिर्ने अवधि न्यूनतम ८ वर्ष र अधिकतम १६ वर्षे हुन्छ भने भुक्तानी अवधि मिति २२ वर्षमा हुन्छ । १६ वर्ष उमेर पूरा भएपछि प्रत्येक वर्ष बिमांकको २० प्रतिशतका दरले २० वर्ष उमेरसम्ममा शतप्रतिशतका बिमांक तथा २२ वर्ष उमेरमा आर्जित बोनस एकमुष्ट प्रदान गरिन्छ ।

बिमालेख प्रारम्भ भएपछि हुने पहिलो बिमांकीय मूल्यांकनबाट निर्धारित भएबमोजिमको बोनस प्रदान गरिन्छ । तर, जोखिम प्रारम्भ भइसकेको अवस्थामा बोनस घोषणा हुनुअगावै मृत्यु भएको खण्डमा संस्थानको प्रचलित बोनस दर प्रतिहजार ६५ रुपैयाँ विशेष बोनस प्रदान गरिन्छ । बिमा गर्दा आमाबुबा दुवैले प्रस्ताव गर्न सक्छन् । तर, आमा गृहिणी भएको अवस्थामा भने २ लाखसम्मको मात्रै प्रस्ताव गर्न सकिन्छ ।

बिमा प्रारम्भ मितिले २ वर्ष पूरा भएपछि वा उमेर ७ वर्ष जुन पछि पर्छ, सो मितिपछि बिमालेखको जोखिम बहन प्रारम्भ हुन्छ । जोखिम बहनअघि नै बिमितको मृत्यु भएमा (अतिरिक्त बिमाशुल्कबाहेक) तिरिएको बिमाशुल्क मृत्यु दाबीबापत भुक्तानी गरिन्छ । बिमा जोखिम बहन प्रारम्भ भएपछि भने बिमांक र आर्जित बोनस पूरै भुक्तानी गरिन्छ ।

बिमा प्रस्तावकले अतिरिक्त शुल्क तिरेर बिमाशुल्क छुट लाभ लिन सक्नेछ । बिमाशुल्क छुट लाभ लिने बिमा प्रस्तावकको जोखिम बहन नहुँदै वा भइसकेपछि मृत्यु भएमा त्यसपछिका बिमाशुल्कहरू बिमितले तिर्नुपर्दैन, तर तोकिएको मितिमा बिमितले भुक्तानी पाउँछ । लाभमा समावेश हुने प्रस्तावकले संस्थानको प्रचलित अन्य बिमा प्रस्तावसरह स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

बाल उमंग
बिमा संस्थानले सावधिक जीवन बिमा ‘बाल उमंग’ योजना पनि सञ्चालनमा ल्याएको छ । यस बिमाले हाल बजारमा रहेका आफ्नो बिमालेखले समेट्न नसकेको उमेर समूह (८ देखि ११ वर्षसम्म)का बिमितहरूलाई बिमाको परिधिभित्र समेट्न मद्दत गर्ने अपेक्षा गरिएको छ । १ देखि ११ वर्षसम्मका बालबालिकाका लागि योजना खरिद गर्न सकिन्छ ।

यस योजनाको न्यूनतम अवधि ५ वर्ष र अधिकतम अवधि १५ वर्षसम्मको हुन्छ भने अधिकतम अवधि भुक्तानी उमेर १६ वर्ष हुन्छ । त्यस्तै, १ लाखदेखि प्रस्तावकको आयस्रोत र बिमित–प्रस्तावकको स्वास्थ्य परीक्षणका आधारमा अधिकतम बिमांक रकम कायम गर्न सकिन्छ । तर, २० लाखभन्दा बढी रकमको बिमा गर्दा प्रस्तावकको समेत कम्तीमा समान रकमको बिमा अनिवार्य रूपमा गर्नुपर्छ ।

यस बिमालेखअन्तर्गत बिमितको उमेर ७ वर्ष वा २ वर्षको बिमाशुल्क भुक्तानी गरिएपछि मात्रै जोखिम बहन सुरु हुन्छ । जोखिम बहन नहुँदै बिमितको मृत्यु भएमा प्रथम बिमाशुल्कबाहेकको बिमाशुल्क रकम फिर्ता गरिन्छ । जसमा अतिरिक्त शुल्क लिइएको भए सो रकम फिर्ता हुँदैन । यस बिमालेखअन्तर्गत बिमा प्रस्ताव गर्दा प्रस्तावक बिमितको बाबु/आमा नै हुनुपर्छ । बिमाशुल्क भुक्तानी गर्ने दायित्व बाबु/आमाको हुन्छ । बिमालेख प्रारम्भ भएको २ वर्षपछि बिमित/प्रस्तावकले चाहेमा समर्पण मूल्यको ९० प्रतिशतसम्म रकम बिमालेख धितो राखी कर्जा लिन सकिन्छ ।

नेपाल लाइफ इन्स्योरेन्स

केटाकेटी जीवन बीमा
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिकाका लागि केटाकेटी जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । भर्खर जन्मेको बालबालिकादेखि ११ वर्षसम्मका लागि यो बिमा गर्न सकिन्छ । तर, बालबालिका ७ वर्ष पुगेपछि मात्रै जोखिम सुरु हुन्छ । यदि बिमा गर्दा बालबालिका ७ वर्ष पुगिसकेको भए जोखिम १० वर्ष पुगेपछि सुरु हुन्छ । बिमा कम्तीमा पनि १ लाख र बढीमा ५० लाखसम्मको गर्न सकिन्छ । बिमित १९ वर्ष पुगेपछि बिमा परिपक्व हुन्छ । यस योजनामा कर्जा र दुर्घटना लाभ भने उपलब्ध छैन । बिमाशुल्क वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रूपमा पनि भुक्तानी गर्न सकिन्छ ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या संरक्षित बाल योजना
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिकाका लागि सूर्या संरक्षित (सावधिक) जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । भर्खर जन्मेको बच्चादेखि १५ वर्षसमम्मको बच्चाको बिमा गर्न सकिन्छ । तर, बिमितको उमेर ६ वर्ष पुगेमा वा बिमा प्रारम्भ मितिबाट २ वर्षको बिमाशुल्क भुक्तानी गरी अवधि पूरा भएको अवस्थामा जुन घटनापछि हुन्छ, सो अवधिदेखि जोखिम प्रारम्भ हुन्छ । यदि केटाकेटीको प्रवेश उमेर १५ वर्ष (नजिकको जन्मदिन) भएमा बिमा प्रारम्भ भएको १ वर्षपछिदेखि नै जोखिम बहन गरिन्छ । बिमा अवधि न्यूनतम १० देखि ३० वर्षसम्मको हुन्छ । न्यूनतम परिपक्वता उमेर १६ र अधिकतम३० सम्मको हुन्छ । कम्तीमा ५० हजार र धेरैमा २० लाखसम्मको बिमा गर्न सकिन्छ ।

बिमा अवधि समाप्त भएपछि बिमांक रकम र आर्जित बोनस प्राप्त गर्न सकिन्छ । यदि बिमा जोखिम प्रारम्भ मितिभन्दा अगाडि बिमितको मृत्यु भएमा अतिरिक्त सुविधाका लागि तिरेको शुल्कबाहेक बाँकी सम्पूर्ण बिमाशुल्क बिना बोनस प्रस्तावक र कानुनी संरक्षकलाई भुक्तानी गरिन्छ । तर, यस बिमा योजना कर्जा सुविधा भने उपलब्ध छैन । यसका साथै कम्पनीले सूर्या बालधन (अग्रिम भुक्तानी) जीवन बिमा योजनासमेत सञ्चालनमा ल्याएको छ । यो योजनाअनुसार कम्पनीले बिमितको कम्तीमा पनि १६ वर्षको उमेरमा पहिलो किस्ता भुक्तानी गर्छ । अधिकतम उमेर परिपक्वता ३० वर्षको हुन्छ । यो बिमा कम्तीमा ५० हजार र धेरैमा २० लाखसम्मको गर्न सकिनेछ ।

नेसनल लाइफ इन्स्योरेन्स

बाल अमृत सावधिक जीवन बीमा
भर्खर जन्मेको बच्चादेखि १५ वर्षसम्मको बच्चाका लागि यो बिमा गर्न सकिन्छ । तर, बिमा गरेको दुई वर्षपछि वा बिमितको ६ वर्ष उमेर पुगेपछि जोखिम प्रारम्भ हुनेछ । यो योजना कर्जा पाउन सकिनेछ । बिमाशुल्क वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रूपमा भुक्तानी गर्न सकिनेछ । बिमा अवधि थोरैमा ११ र धेरैमा २० वर्षसम्मको हुनेछ । कम्तीमा ५० हजार र धेरैमा २५ लाखसम्मको बिमा गर्न सकिनेछ । कम्पनीले बाल शिक्षा तथा विवाह सावधिक योजना, बाल भाग्योदय योजना पनि सञ्चालनमा ल्याएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)

बाल सावधिक जीवन बीमा
लाइफ इन्स्योरेन्स कर्पोरेसनले बाल सावधिक जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा १ देखि १० वर्षसम्मका बालबालिका सहभागी हुन सक्छन् । बिमा न्यूनतम २० देखि अधिकतम ४५ वर्षमा परिपक्व हुन्छ । बिमा अवधि १५ वर्षदेखि ३५ वर्षसम्मको हुन्छ । न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाखसम्मको बिमा गर्न सकिन्छ । बिमा गरिएको दुई वर्षपछि ऋणसमेत लिन सकिन्छ ।

बिमा प्रारम्भ भएको २ वर्षपश्चात् र ५ वर्ष उमेर पुगेपछिको मिति जुन घटना पछिल्लो हुन्छ, सोही वर्ष दिवसबाट जोखिम सुरु हुन्छ । बिमा अवधि समाप्त भएपछि पूर्ण अवधिको आर्जित बोनसका साथ बिमांक रकम एकमुष्ट भुक्तानी हुन्छ । यदि बिमितको जोखिम प्रारम्भ पूर्व नै मृत्यु हुन गएमा बिमकलाई प्राप्त सबै प्रिमियम रकम फिर्ता हुन्छ र बिमालेखलाई रद्द गरिन्छ । त्यस्तै बिमितको जोखिम प्रारम्भपश्चात् तर परिपक्व हुनुअगाडि नै मृत्यु हुन गएमा आर्जित बोनससहित बिमांक रकम एकमुष्ट भुक्तान हुन्छ । यस योजनाअन्तर्गत ५० वर्ष उमेरसम्मको प्रस्तावकले अतिरिक्त प्रिमियम शुल्क भुक्तान गरी बिमाशुल्क मिनाहा लाभ लिन सक्छन् । यस्तो लाभबापत कथंकदाचित् प्रस्तावकको मृत्यु हुन गएमा सो मितिपछिको बिमाशुल्क भुक्तानी गर्नुपर्दैन ।

एसियन लाइफ इन्स्योरेन्स

बाल उमंग (सावधिक) जीवन बीमा
भर्खर जन्मेको बच्चादेखि १० वर्षसम्मको बच्चाका लागि यो बिमा योजना खरिद गर्न सकिन्छ । तर, बिमा सुरु भएको दुई वर्षपछि वा बिमित बच्चाको उमेर ६ वर्ष पूरा भएको मितिमध्ये जुन घटनापछि हुन्छ, सो मितिदेखि बिमालेखअन्तर्गत जोखिम प्रारम्भ हुन्छ । ५० हजारदेखि १० लाखसम्मको बिमा गर्न सकिन्छ । १८ वर्ष पुगेपछि बिमा योजना समाप्त हुन्छ । कम्पनीका अनुसार बिमांक रकमका आधारमा र बिमाशुल्क भुक्तानी गर्ने तारिखका आधारमा बिमाशुल्कमा छुटसमेत पाउन सकिन्छ ।

बिमा अवधि समाप्तिपछि बिमांक रकम र बिमा प्रारम्भ मितिदेखि आर्जित बोनस एकमुष्ट भुक्तानी गरिन्छ । बिमा जोखिम प्रारम्भ भएपछि बिमितको मृत्यु भएमा बिमांक रकम र बिमा प्रारम्भ मितिदेखि आर्जित बोनस एकमुष्ट भुक्तानी गरिन्छ । बिमालेखमा जोखिम प्रारम्भ हुनुअगाडि बिमितको मृत्यु भएमा ऐच्छिक सुविधाका लागि तिरेको शुल्कबाहेक अन्य सम्पूर्ण बिमाशुल्क प्रस्तावक–कानुनी संरक्षकलाई एकमुष्ट फिर्ता गरिन्छ । यस योजनाअन्तर्गत अतिरिक्त रकम थप गरी बिमाशुल्क छुट सुविधा र मासिक शैक्षिक सुविधासमेत लिन सकिन्छ ।

भविष्य (सावधिक) जीवन बीमा योजना
भर्खर जन्मेकोदेखि १५ वर्षसम्मका बच्चाका लागि यो योजना खरिद गर्न सकिन्छ । तर, बिमा प्रारम्भ भएको २ वर्षपछि वा बिमित बच्चाको उमेर ६ वर्ष पूरा भएकोमध्ये जुन घटनापछि हुन्छ, सो मितिदेखि बिमालेखअन्तर्गत जोखिम प्रारम्भ हुनेछ । प्रवेश उमेरका आधारमा १५ वर्ष भएको बिमितको हकमा बिमा प्रारम्भ मितिले १ वर्षपछि मात्र जोखिम प्रारम्भ हुनेछ । यस योजनाको न्यूनतम बिमांक रकम ५० हजारको हुनेछ भने अधिकतम २० लाखसम्मको गर्न सकिन्छ । यदि ५० हजारभन्दा तलको बिमा गर्न चाहेमा बिमांकमा प्रतिहजार २ रुपैयाँ प्रतिवर्ष थप गर्नुपर्छ । बिमा अवधि कम्तीमा १० र धेरैमा ३० वर्षको हुन्छ ।

बीमा समाप्त अवधिसम्म बिमित जीवित रहेमा बिमालेखका सर्तहरूको अधीनमा रही उक्त मितिमा बिमांक रकम र नियमानुसारको बोनस एकमुष्ट भुक्तानी गरिन्छ ।

रिलायबल लाइफ इन्स्योरेन्स

उच्च शिक्षा जीवन बीमा योजना
रिलायबल उच्च शिक्षा योजना बिमा योजना सञ्चालनमा ल्याएको छ । अभिभावकले आफ्नो बालबालिकाको सुनिश्चित भविष्य तथा उच्च शिक्षाका लागि यो योजना खरिद गर्न सक्छन् । यस जीवन बिमा योजना खरिद गर्न अधिकतम १५ वर्षसम्म उमेर भएका बालबालिकका लागि उपयोगी हुन्छ । चालू आवका लागि यस कम्पनीले बोनस दर ५० रुपैयाँ प्रस्ताव गरेको छ ।

भर्खर जम्मेको बालबालिकादेखि १५ वर्षसम्मका लागि यो योजना खरिद गर्न सकिन्छ । तर, जोखिम बिमा सुरु भएको २ वर्षपछि वा बिमितको उमेर ६ वर्ष पुगेपछि मात्रै सुरु हुनेछ । बिमा रकम कम्तीमा ५० हजार र अधिकतम प्रस्तावको आयमा आधारित हुन्छ । अधिकतम बिमा अवधि २५ वर्ष र अधिकतम बिमा समाप्ति उमेर २५ वर्षको हुुन्छ ।

यस योजनामा बिमा अवधि सकिएपछि बिमित जीवित रहेमा बिमांक रकम र बोनस एकमुष्ट फिर्ता गरिन्छ । जोखिम सुरु हुनुअघि नै बिमितको मृत्यु भएमा ऐच्छिक सुविधाका लागि भुक्तानी गरेको शुल्कबाहेक अन्य सम्पूर्ण रकम प्रस्तावकलाई फिर्ता गरिन्छ । बिमाशुल्कमा केही रकम थप गरी बिमाशुल्क छुट र मासिक आय सुविधा पनि लिन सकिन्छ ।

(मुना कुँवर -नयाँ पत्रिकाबाट साभार गरिएको )

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS