खिमलाल घिमिरे
नेपाल सरकार अर्थमन्त्रालय अन्तर्गत दुई अलग अलग वित्तीय क्षेत्र नेपाल राष्ट्र बैङ्क र बीमा समिति रहेका छन् । जस मध्ये बैङ्क तथा वित्तीय संस्थाको निरीक्षण तथा नियमककारी निकायको भूमिकामा नेपाल राष्ट्र बैङ्क रहेको छ भने विभिन्न बीमा कम्पनीहरूको निरीक्षण तथा नियमककारी निकायको भूमिकामा बीमा समिति रहेको छ ।
त्यसोत नेपालमा बीमाको सुरुवात भएको लामो समय सम्म पनि बीमा बारे आम जनता त्यति जानकार छैनन् । विश्वका कैयौँ विकसित देशहरू मा बीमाको परिभाषा बारे राम्रो ज्ञान भएता पनि आर्थिक हिसाबले पछाडि परेका अविकसित देशहरूमा बीमाको विकास हुन सकिरहेको छैन । हाम्रो देशमा पनि बीमाको बारेमा त्यति सकारात्मक छाप परेको जस्तो लाग्दैन ।
नेपाल सरकारको नियमककारी निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई आम कृषक वर्गलाई लक्षित गरी कृषि बीमा , पशु बीमा ,बाली बीमा ,जस्ता विभिन्न योजना लिएर जान बीमा कम्पनीहरूलाई सुझाव दिए लगतै छिट फुट मात्रमा कृषकहरूले आफ्नो बस्तुभाउको बीमा गराउन थालेको देखिन्छ । यता घर , गाडी, पसल , ठेक्का पट्टा लगायतका महत्त्वपूर्ण साधन सबैको बीमा अनिवार्य छ भनी बीमा गराउन प्रेरित गरेको देखिन्छ तथापि यो त्यति प्रभावकारी भएको देखिँदैन ।
बीमा समितिले २०७० सालमा बीमा ऐन २०४९ लाई केही संशोधन गरी ठुला ठुला हाउजिङ कम्पनी लगायतका भौतिक वस्तुहरूको अनिवार्य बीमा गर्नु पर्ने प्रावधान पारित ग¥यो , त्यति बेला यो संसोधित ऐन खासै सहज तरिकाले स्वीकार गरिएन तर पनि ऐच्छिक रूपमै भए पनि पारित भयो । फलस्वरुप २०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले गर्दा ठुलो मात्रमा धनजनको क्षति हुन पुग्यो मात्र ५६ सेकेन्डले त्यस पछि बीमाको महत्त्व के हो ? बीमाले के काम गर्दछ ? बीमाले कस्तो अवस्थामा सहयोग पु-याउँछ ? आदि प्रश्नको उत्तर यहीँबाट पाउन सकिने अवस्था सिर्जना भयो । बीमा कम्पनीहरूलाई बीमा समितिबाट जति सक्यो चाडै क्षतिको विवरण सङ्कलन गरी करारमा उल्लेखित दाबी भुक्तानी दिन निर्देशन भयो । यसै अनुरूप जीवन बीमा र निर्जीवन बीमा दुवै कम्पनीहरू दाबी भुक्तानी दिन तछाड मछाड नै गरे कतिपय कम्पनीहरूले भुक्तानी दिन केही ढिला सुस्ती गरे पनि प्रक्रिया पुरा गरी भुक्तानी दिए । यसरी ज-जसले जीवन बीमा तथा निर्जीवन बीमा गराएका थिए उनीहरूको परिवारले क्षतिपूर्ति पाए, नगराउने परिवारहरूले क्षतिपूर्ति पाएनन् ।
यसरी सानो रकम लगानी गरेर कुनै विपतको घडीमा ठुलो आर्थिक सहयोग प्रदान गर्ने बीमा कम्पनी किन आज जनताको माझमा लोकप्रिय हुन सकिरहेको छैन ? के जनताले बीमाको परिभाषा नबुझेकै हुन त ? कि यदि बीमा कम्पनीबाट नै जनताको मन जित्ने खालका प्रभावकारी पहल कदमीहरु हुन नसकेका पो हुन कि यो बारे जान्न अनिवार्य छ । यहाँ बीमा समितिले प्रकाशन गर्ने तथ्याङकमा जीवन बीमा गराउनेको सङख्या नै न्यून रहेको भेटिन आउँछ । राज्यबाट निर्जीवनको तुलनामा जीवन बीमाको योजना बारे त्यति प्रभावकारी तथा उल्लेख्य कार्यहरू गरेको पनि पाईदैन । यो विषयमा पनि सरकारको ध्यान जानु पर्ने देखिन्छ ।
बीमामा लगानी गर्नु भनेको आजको भोलि प्रतिफल पाउँछु भनेर होइन कि मलाई बीमा आवश्यक छ भन्ने ठानेर मात्र बीमामा लगानी गर्नु जरुरी छ ।
समयको गति सँगै देशमा विभिन्न प्रकारका राजनैतिक गतिरोधहरूको बिचमा नेपालमा बीमा तथा बैङ्कको बारेमा आम जनतालाई सु सूचित गराउन राज्यबाट पनि विभिन्न पहल कदमीहरु बिस्तारै नचालिएका होइनन् तर जति हुनु पर्ने हो त्यति भने भएका छैनन् । आज देश आर्थिक सम्वृदिको बाटो तर्फ उन्मुख हुन थालिसकेको छ । देशमा राजनीतिक स्थिरता आउँदै छ । यो अवस्थामा सयौँ लाखौँ र करोडौँको सङख्यामा लगानी गर्न तयार रहेका उद्योगी व्यावसायीहरु विभिन्न दीर्घकालीन लगानीका क्षेत्रहरूमा लगानी गर्न आतुर छन् । नेपालमा विभिन्न पूर्वाधार र ऊर्जा क्षेत्रमा मनग्य सम्भावनाहरू छन् नेपालमा लगानी नभएको होइन ती लगानीहरू उपभोग्य र अल्पकालीन क्षेत्रमा मात्र छ ।
हाम्रो उपभोगको प्रवृत्ति बढेर गएको छ । रेमिटान्स वर्षेनी बढेका कारण उपभोग वृद्धि हुँदै गएको हो उपभोगको कारण यहाँ दीर्घकालीन भन्दा ट्रेडिङ दैनिक उपभोग्य सामाग्रीको कारोबारमा बढी लगानी भइरहेको छ । दीर्घकालीन महत्त्वका क्षेत्रमा लगानी हुन सकेको छैन । दीर्घकालीन लगानी ठुलो आकारको हुन्छ , ठुलो लगानीमा जोखिम पनि धेरै हुन्छ । सम्भावित भन्दा बढी जोखिम उठाएर लगानी कसैले गर्दैन र त देशको राष्ट्रिय आय देखि प्रतिव्यक्ति आय सम्म न्यून छ । विकसित देशको वर्तमान लगानीको क्षेत्रलाई आधार मानेर हेर्दा अल्पकालीन लगानी भन्दा दीर्घकालीन लगानीलाई नै बढी प्राथमिकतामा राखी लगानी गरेको पाइन्छ । त्यसैले विश्वको एउटा मात्र लगानीको क्षेत्र हो बीमा । जहाँ निश्चित समयमा निश्चित रकम लगानी गरी करार सम्झौतामा उल्लेखित सेवा सुविधा पाइन्छ । सरल भाषामा भन्दा सानो रकम लगानी गरेर ठुलो जोखिम बीमा कम्पनीले लिने गर्दछ ।
यसरी बीमामा लगानी गर्नु भनेको आजको भोलि प्रतिफल पाउँछु भनेर होइन कि मलाई बीमा आवश्यक छ भन्ने ठानेर मात्र बीमामा लगानी गर्नु जरुरी छ । बीमा व्यवसाय कुनै नेटर्वकिङ व्यवसाय होइन यो त समाज सेवा गर्ने पवित्र व्यवसाय हो ।जो कसैलाई कुनै भवितव्य परेमा जीवन बीमा होस या निर्जीवन बीमा गराएको रहेछ भने करार बमोजिम क्षतिपूर्ति बापतको दाबी रकम भुक्तानी दिन्छ । दुनियाँमा कठै बरा कति गरिब छ खान पुग्दैन हेरत बिचरा मरेछ भन्ने धेरै हुन्छन् तर सहयोगको भावना दर्साइ सहयोग गर्ने विरलै हुन्छन् त्यसैले त्यो बेला आर्थिक क्षति विरुद्ध व्यवस्थापनको काम गर्छ बीमाले ।
बीमा कसैको दबाब र करमा परेर गर्ने चिज होइन यो त केवल बुझेर आफूलाई आवश्यकता छ भन्ने महसुस गरेर मात्र बीमा गर्नु पर्छ नेपालमा हाल जीवन बीमा तर्फ १७ वटा कम्पनीहरूले आ आफ्नो व्यापारिक लक्ष्य अनुसार ग्राहकको मागलाई ध्यानमा राख्दै निकै महत्त्वपूर्ण योजना बजारमा लिएका छन् यसरी बिमित आफैमा सजक भई आफूलाई राम्रो लाग्ने बीमा योजना छनौट गर्न सक्नु पर्दछ । बीमा क्षेत्रलाई मर्यादित बनाउन स्वस्थ प्रतिस्पर्धात्मक तरिकाले व्यापार गर्न त्यही अनुसारको बीमा अभिकर्तालाई तालिम दिनु आवश्यक देखिन्छ ।
गत वर्ष देखि सरकार द्धारा स्वास्थ्य बीमा अनिवार्य गरिँदै छ यो पनि परीक्षणकालको लागि ३/१६ जिल्ला हुँदै ७७ वटै जिल्लाहरूमा सेवा विस्तार गर्ने सरकारको लक्ष्य छ । आखिर यहाँबाट पनि बीमाको परिभाषा बुझ्न जरुरी छ । स्वास्थ्य बीमा भनेको के हो ? के कस्तो अवस्थामा बीमा गरेबापत क्षति पूर्ति पाइन्छ ? देशका गरिब पीछडिएका समुदायलाई लक्षित गरी नीति निर्माण गरिएको स्वास्थ्य बीमाको परिभाषा कुनै एउटा परिवार जहाँ निश्चित समयको लागि तोकिएको निश्चित रकम जम्मा गरी स्वास्थ्य बीमा गरिन्छ ।
यदि बीमा गरेको परिवारको कुनै सदस्य बीमा करार अवधि भित्र बिरामी परी उपचार गर्न पर्ने भएमा तोकिएको मापदण्ड अनुसार प्रक्रिया पु¥याई प्रतिव्यक्ति उपचार खर्च बढीमा रु ५० हजार बराबर पाउने भनिएको छ । यसबाट पनि आर्थिक अवस्था कमजोर भएको परिवारलाई केही हदसम्म राहत महसुस अवश्य हुनेछ यसको प्रकृति म्यादी बीमा आकारको हुनेछ । प्रत्येक वर्ष निश्चित शुल्क जम्मा गरी करार थप गरिन्छ । यसरी बीमा भनेकै आर्थिक क्षति विरुद्धमा काम गर्ने एउटा बलियो आधार हो भने सर्वोत्तम बचत पनि हो ।
लेखक घिमिरे बीमा क्षेत्रमा कार्यरत कर्मचारी हुन ।