काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले एलजी सीपशिक्षा कार्यक्रमको १६औं ब्याच सञ्चालनमा ल्याएको छ । यस कार्यक्रममार्फत उद्योगको आवश्यकता अनुरूपको प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्दै नेपाली युवाहरूलाई सक्षम बनाउने आफ्नो प्रतिबद्धतालाई एलजीले पुनः पुष्टि गरेको छ ।
युवाहरूलाई बजारको मागअनुसारका व्यावसायिक तथा प्राविधिक सीप प्रदान गरी समाजमा योगदान पुऱ्याउने उद्देश्यका साथ सञ्चालन गरिएको यस कार्यक्रमले रोजगारीका अवसर बढाउनुका साथै दिगो जीविकोपार्जनको आधार तयार गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।
शिक्षा र रोजगारीबीचको दूरी कम गर्दै नेपाली युवाहरूलाई सफल करियर निर्माणको अवसर उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको एलजी सिपशिक्षा कार्यक्रमले व्यावहारिक तथा प्रयोगात्म सिकाइमार्फत उच्च माग भएका प्राविधिक क्षेत्रमा आवश्यक दक्षता विकास गराउँदै आएको छ ।
सन् २०२४ मा सुरु भएको यस कार्यक्रमअन्तर्गत हालसम्म १६ वटा प्रशिक्षण ब्याच सञ्चालन भइसकेका छन्। पोलिटेक्निक तथा इलेक्ट्रिकल र मेकानिकल तालिममार्फत हालसम्म ३३२ जना सहभागीले व्यावसायिक शिक्षा प्राप्त गरिसकेका छन् । हाल सुरु भएको १६औं ब्याचमा १८ जना सहभागी रहेका छन्।
यस प्रशिक्षणको शुभारम्भको अवसरमा एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर बंगलादेश शाखाका प्रबन्ध निर्देशक जेराल्ड सङ्घो चुन तथा चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले हाल प्रशिक्षणमा सहभागी ब्याचको अवलोकन गरेका थिए ।
प्राविधिक शिक्षामा निरन्तर सहकार्य र लगानीमार्फत एलजी सिपशिक्षा कार्यक्रम र चौधरी फाउन्डेसन परिवर्तनशील श्रम बजारमा सफल हुन आवश्यक ज्ञान र सीप प्रदान गरी दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्न प्रतिबद्ध रहेका छन्।
यस अवसरमा एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर, बंगलादेश शाखाका प्रबन्ध निर्देशक जेराल्ड सङ्घो चुनले भने, ‘युवा सशक्तीकरण र सीप विकासमा केन्द्रित साझेदारीको अर्को महत्वपूर्ण चरणमा प्रवेश गर्न पाउँदा हामी गर्व महसुस गरेका छौं। यस अर्थपूर्ण पहलमा सहकार्य तथा सहयोगका लागि काठमाडौं महानगरपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । सीप जुनसुकै उमेरमा पनि सिक्न सकिन्छ, त्यसैले सिकाइ कहिल्यै रोकिनु हुँदैन। हामी सँगै अघि बढ्दा र समाजलाई केही फर्काउन सक्दा नै जीवन अझ राम्रो बन्छ।’
त्यसैगरी चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले भने,’व्यावहारिक सीपमार्फत मानिसलाई सक्षम बनाउनु सबैभन्दा अर्थपूर्ण लगानीमध्ये एक हो भन्ने हाम्रो विश्वास छ । एलजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा अझ धेरै व्यक्तिलाई अवसर सिर्जना गर्दै जीविकोपार्जनका सम्भावना विस्तार गरी देशको आर्थिक विकासमा योगदान पुऱ्याउने हाम्रो लक्ष्य हो । आगामी दिनहरूमा पनि दिगो करियर निर्माण र दक्ष जनशक्ति विकासमा हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।’












