IME Life New

लघुबीमालाई चार पाँच महिनाभित्रै प्रत्येक प्रदेशमा नमूनाका रूपमा संचालन गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिको आयोजनामा ‘कृषि तथा पशुपन्छी बीमाको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पुर्याउने उद्देश्यले कृषक लगायत सम्वद्ध सबै सरोकारवालाहरूको सहभागितामा यही असार ६ गते काठमाडौंमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले हाल पाँच प्रतिशत कृषकमा मात्र सीमित रहेको कृषि तथा पशुपन्छी बीमालाई बढाएर ९५ प्रतिशतभन्दा बढी कृषकको पहुँचमा पुर्याउनका लागि ठोस कार्ययोजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

Esewa
Crest

अध्यक्ष डा. दंगालले कृषकहरूलाई कृषि तथा पशुपन्छी बीमाका बारेमा जागरूक गराउन कम्तीमा पनि वडा वडामा पुगेर बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू संचालन गर्नुपर्ने, बीमा प्रक्रियालाई सहज एवम् सरल बताउनुपर्ने र अनुगमनलाई कडाईका साथ अगाडि बढाउनुपर्ने बताए ।

विशेष अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषि तथा पशुपन्छी बीमाको कार्यान्वयनमा देखिएका समस्याहरूको दीर्घकालीन समाधानका लागि मन्त्रालयले Real Time Based Software निर्माण गरी कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

सचिव डा. शर्माले हाल पशुपन्छी बीमा र व्यवसायिक कृषिको बीमा गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै कृषि तथा पशुपन्छी बीमालाई प्रतिस्पर्धात्मकरूपमा अगाडि बढाउन प्रत्येक जिल्लामा कम्तीमा पनि दुईवटा बीमा कम्पनीलाई जिम्मा दिनुपर्ने र धान, मकै, गहुँ लगायतका बालीको समूहगत बीमा गर्नेतर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रमका सभापति एवम् बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि तथा पशुपन्छी बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समितिले लक्ष्य दिएर बीमा कम्पनीहरूलाई जिल्ला जिल्लामा खटाएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको लघुबीमा कार्यक्रम चार पाँच महिनाभित्रै प्रत्येक प्रदेशमा नमूनाका रूपमा संचालन गरिने जानकारी दिए ।

लघुबीमा कार्यक्रम कार्यान्वयनमा आएपछि पनि बीमा कम्पनीहरूलाई दिइएको लघुबीमा कार्यान्वयनको जिम्मेवारी यथावत् रहने स्पष्ट गर्दै अध्यक्ष सिलवालले भने, “कृषकले जुन स्थानमा बीमा गरेको हो, त्यही स्थानमा नै बीमाको दाबी भुक्तानी हुनुपर्यो, सरकारको बीमा अनुदान पनि त्यहीँ स्थानमा नै कम्पनीलाई भुक्तानी हुनुपर्यो । यसमा सम्बद्ध सबै सरकारी निकायहरू गम्भीर हुनुपर्छ ।”

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै कृषि तथा पशुपन्छी बीमालाई सशक्तरूपले विस्तार गर्नका लागि समितिले यससम्बन्धी निर्देशिकामा समय सापेक्ष सुधार, कृषि तथा पशुपन्छी बीमामा मध्यस्थकर्ताको व्यवस्था, नयाँ बीमालेख निर्माण, पुराना बीमालेखको संशोधन र सम्बद्ध संघ संस्थाहरूको समन्वयमा तालिम संचालन लगायतका कार्यहरू निरन्तररूपमा गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले कृषि तथा पशुपन्छी बीमाको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय सम्बधी प्रस्तुती दिएका थिए । कार्यक्रममा सहभागी कृषकहरूले सबै स्थानीय तहमा बीमा इकाई स्थापना गर्नुपर्ने, बीमा दाबी भुक्तानी सहजतापूर्वक पाउनुपर्ने, स्थानीयस्तरमै बीमा गर्ने र दाबी भुक्तानी पाउने व्यवस्था गर्नुपर्ने, बीमा कम्पनीले सबै स्थानीय तहमा शाखा खोल्नुपर्ने, दलहन तथा तेलहन बालीको पनि बीमालेख ल्याउनुपर्ने, स्थानीय तहमा प्राविधिक कर्मचारीहरूको कमी हुन दिन नहुने लगायतका धारणा राखेका थिए ।

यसैगरी, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले केही ढिला भए पनि कृषि तथा पशुपन्छी बीमा दाबी भुक्तानी निरन्तररूपमा गर्दै आएको स्पष्ट गर्दै कम्पनीका कृषि विज्ञहरूले प्रमाणित गरेका कागजातलाई सरकारले मान्यता दिनुपर्ने, सरकारले कृषि तथा पशुपन्छी बीमा अनुदान विलम्ब नगरी समयमै उपलब्ध गराउनुपर्ने, स्थानीय तहका प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने र सम्बद्ध सबैको पहुँच पुग्नेगरी यससम्बन्धी सफ्टवेयरको व्यवस्था गर्नुपर्ने लगायतका विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, राष्ट्रिय किसान आयोग, कृषि विभाग र पशु सेवा विभागका पदाधिकारी, बीमक संघ लगायत व्यवसायिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, कृषक, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता, प्राविधिक तथा क्षति मूल्याङ्कनकर्ताहरूको सहभागिता रहेको थियो ।

यसैगरी, कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लाल, उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठ र सहायक निर्देशकहरू टेकराज पाण्डे, प्रिती देव तथा श्रद्धा श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS