काठमाडौं । नेपाल बीमा प्राधिकरणले एक्साभेटर दुर्घटनामा परी मृत्यु भएका सहयोगी कर्मचारीको हकमा पनि तेस्रो पक्ष सरह बीमा दाबी भुक्तानी दिन बीमा कम्पनीलाई आदेश दिएको छ। प्राधिकरणले नेपाल इन्स्योरेन्स कम्पनीलाई बीमित ज्वाला निर्माण सेवाको मागबमोजिम क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएको हो।
सिन्धुपाल्चोकको बतासे भन्ने ठाउँमा २०७५ चैत ८ गते ज्वाला निर्माण सेवाको बा २ क ६८११ नम्बरको जेसीबी एक्साभेटर सडक खन्ने क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका एक्साभेटरका सहयोगी २१ वर्षीय लालबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको थियो।
बीमितले दाबी गर्दा नेपाल इन्स्योरेन्सले सवारीसाधनको क्षतिबापतको रकम भुक्तानी गरे पनि मृतकको हकमा रकम दिन अस्वीकार गरेको थियो। मृतक सोही मेसिनको सहयोगी कर्मचारी भएकोले उनी तेस्रो पक्षमा पर्दैनन् र बीमालेखले उनलाई समेट्दैन भन्ने तर्क बीमकले गरेको थियो।
प्राधिकरणले २०८२ असार १ गते गरेको फैसलामा कम्पनीको तर्कलाई गलत ठहर्याएको छ।
प्रहरी प्रतिवेदन र अपरेटरको स्पष्टीकरणअनुसार दुर्घटना हुँदा मृतक तामाङ मेसिन भित्र नभई बाहिर बसेर ईशारा गरिरहेका थिए। माथिबाट पहिरो खसेर मेसिनले ठक्कर दिँदा उनको मृत्यु भएको थियो। मेसिन बाहिर रहेको व्यक्तिलाई तेस्रो पक्ष मान्नुपर्ने प्राधिकरणको ठहर छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले तेस्रो पक्षको बीमालाई अनिवार्य गरेको छ। त्यसैले बीमालेखमा कुनै बुँदा उल्लेख गरेर प्रचलित कानुनले दिएको क्षतिपूर्तिको हकलाई कुण्ठित गर्न नमिल्ने प्राधिकरणको धारणा छ।
तेस्रो पक्ष बीमाको उद्देश्य नै बीमितमाथि आइपर्ने कानुनी दायित्वलाई रक्षा गर्नु हो। त्यसैले मृतक कर्मचारी भए पनि दुर्घटनाको समयमा मेसिन बाहिर रहेकोले उनलाई तेस्रो पक्षको सुविधाबाट वञ्चित गर्न नमिल्ने फैसलामा उल्लेख छ।
बीमालेख जारी गर्दा तेस्रो पक्षको महलमा बीमाशुल्कको ठाउँमा शून्य उल्लेख गरेको तर जोखिम भने रक्षावरण गरेको भन्दै प्राधिकरणले यस्तो अस्पष्टताप्रति कम्पनीलाई सचेत गराएको छ।


















