बालकृष्ण शर्मा
नेपाली बीमा उद्योगमा विभिन्न समस्या पलाउदै गएको देखिन्छ । यसको विषयमा जानकार भएर पनि नियामक निकाय बीमा समिति, बीमक संघ मौन छ । आज यहाँ बीमा उद्योगको समस्याहरुको सानो विश्लेषण गरौँ ।
सबैभन्दा पहिले कुरा गरौँ बीमा समितिद्वारा जारी गरिएको संस्थागत सुशासनको । कागजमा मात्र राम्रो देखिएको संस्थागत सुशासनको बीमा कम्पनीहरुले मज्जाले धज्जी उडाएका छन् । ७० वर्ष उमेर काटेका व्यक्तिलाई कार्यकारी प्रमुखको हैसियतमा ६ महिनाभन्दा बढी निमित्त कार्यकारी प्रमुख रहन नमिल्ने, दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत भएर बस्न नमिल्ने, यी सबै कागजमा पढ्दा राम्रो देखिन्छन्, तर व्यवहारमा यस्तो देखिदैन । जनरल इन्स्योरेन्सका कार्यकारी प्रमुखको भूमिकामा रहेका एस के तमोटको ७४ औं जन्मदिन मनाएको फोटो सामाजिक संजालमा छाउँदा बीमा समितिले के हेरेर बस्यो, कसैलाई थाहा छैन ।
विगत २ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत नभएको युनाइटेड इन्स्योरेन्स कम्पनी निमित्त कार्यकारी प्रमुखको भरमा चलिरहेको छ । संस्थागत सुशासनमा ६ महिनाभन्दा बढी निमित्त हुन नपाइने भनेर लेखिएको छ । सानिमा लाईफमा लामो समयपछि सिईओ नियुक्त भएका छन् । अर्को उदाहरण शिखर इन्स्योरेन्सलाई हेरौं कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा एउटै व्यक्ति लामो समयदेखि काम गर्दै आएका छन् र पुनः अनुमति दिइएकोछ । एक कार्यकाल ४ वर्ष, र बढीमा दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी रहन नपाउने भनि उल्लेख गरिएकोमा एक व्यक्ति दुई कार्यकाल भन्दा बढि कसरी भइरहेका छन् ? त्यो अचम्म को विषय भएको छ । हरेक पटक शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीको दुई कार्यकाल सकिने बेलामा संस्थागत सुशासनमा एउटा परिवर्तन आइरहेको विगतको परम्परा यसपाली पनि नआउला भन्न सकिदैन ।
दोस्रो समस्या भनेको कर्मचारी फेरबदल । विभिन्न प्रलोभनमा परेर एउटा कम्पनीको कर्मचारी अर्को कम्पनीमा जाने कामले पनि समस्या निम्त्याएको छ । व्यवसाय बढाउने लक्ष्यका साथ उच्च पदमा अनेकौ सेवा(सुविधासहित कर्मचारी नियुक्त गर्ने प्रवृतिले बीमा कम्पनिहरुको आर्थिक भार बढेको छ । यसो गर्दा नयाँ व्यक्तिले मौका नपाउने देखिन्छन भने वृत्ति विकासको परिभाषा उल्टिएको छ । तर सबै कर्मचारीलाई यो कुराले फाइदा दिएको छैन । यस्तै कार्यको शिकार एभरेष्ट इन्स्योरेन्समा माथिल्लो तहमा कार्यरत व्यक्ति सिकार हुन पुगेका छन् । अहिलेको समयमा प्रत्यक्ष असर नदेखिए पनि दीर्घकालीन असर पक्कै देखिने छ ।
तेस्रो समस्या चाहिँ व्यवसाय बढाउने नाममा जथाभाबी दावी फर्छ्यौट तथा नन–ट्यारिफ बीमा व्यवसायमा मनपरी दर–रेट गर्ने परम्परा । बीमा गर्ने भनेको नै भोलिको दिनमा भैपरी आउने दुर्घटनाबाट हुने आर्थिक क्षति कम गर्नलाई हो तर बीमा कम्पनीहरुले आफ्नो व्यवसाय बढाउन विभिन्न शिर्षकमा दाबि फर्छ्यौट गर्ने गरेका छन् । दाबीको अवस्था के कति सही छ, के कति गलत छ, यथार्थ आंकलन कति हो नभई बार्गेनिंग गरेर छिटो भन्दा छिटो दाबि भुक्तानी गरि आफुलाई अब्बल देखाउन बीमा कम्पनीहरु लागि परेका छन् । नन ट्यारिफ व्यवसायमा पनि मनपरी दर –रेट राखेर व्यवसाय बढाउने तर भोलिको दिनमा पुनर्बीमाको सहयोग नहुँदा कम्पनी नै डुब्ने अवस्था पनि नआउला भन्न सकिदैन ।
विस २०७२ वैशाख १२ गते गएको भूकम्प पछि बीमाप्रतिको आम जनमानिस्मा जुन आस्था बस्यो, अहिलेको कोभिड पोलीसिले त्यो आस्था मेटाउने काम गरेको छ । संसारमा कुनै पनि महामारीको बीमा हुने प्रचलन छैन तर नेपालमा त्यो जात्रा देख्न पाइयो. यसको मुख्य कारण भनेको नियामक निकायमा जानकार व्यक्ति नहुनु हो ।
यस्तो बेला बीमक संघले केही सल्लाह सुझाव दिनुपर्ने थियो, तर अरु सबै व्यवसाय ठप्प भएको बेला कोरोना बीमाको प्रिमियम भए पनि आउँछ भनेर बीमक संघ चुप लाग्यो । अहिले आएर कोरोना बीमाको दाबि भुक्तानी गर्न नसकिने भनेर बीमा कम्पनिले आनाकानी गरेपछि बीमा समितिले पनि हात उठाइसकेको छ । यसले बीमाप्रति मानिसको विश्वास गुम्ने निश्चित छ । (शर्मा बेलायतस्थित केन्ट विश्व विद्यालय, एक्चुअल साईन्स एमएससीका स्कलर हुन् ।)