काठमाडौँ: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ । बोर्डले सिटिजन्स बैङ्कलाई १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ नै प्रिमियम थपी २०० रुपैयाँमा एफपीओ बिक्री गर्ने अनुमति दिएको थियो ।
एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते र ढिलोमा भदौ १४ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ । नेपाल धितोपत्र बोर्डले गत साता स्वीकृत दिएपछि बैंकले एफपीओ निष्कासन गरेको हो । गत आर्थिक वर्षमा बैंकले नाफा बढाएर १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ ।
एफपिओ पछि संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम हुने छ। बजारमा सोमबार २२८ मा सिटिजन्स बैङ्कको शेयर कारोबार भएको थियो। बजार मूल्य र एफपीको मूल्यको बिच खासै ठुलो अन्तर नभएकाले यो एफपीओपनि सजिलै बिक्री नहुने समस्या आउने देखिन्छ। एफपिओ पछि बैङ्कको चुक्ता पुँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने प्रिमियम बराबरको ४ करोड ६३ लाख रुपैयाँ नै जगेडा कोषमा जाने छ ।