काठमाडौं । सरकारले विश्वव्यापीरूपमा नै गम्भीर सुरक्षा कमजोरीका कारण बन्द (अफलाइन) गरेका सरकारी वेबसाइटहरू आइतबार राति देखि पुनः सञ्चालनमा आएका छन् ।
सरकारले सुरक्षा कमजोरी सच्याउने प्रयास भइरहेको जनाउँदै गत बुधबारदेखि अफलाइन गरिएका बेवसाइटहरू पुनः सञ्चालनमा ल्याइएको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विज्ञप्तीमार्फत् जानकारी दिएको छ।
कृत्रिम बुद्धिमत्ता(एआइ) ले वेबसाइटमार्फत् सर्भरमा हुने सम्पर्कका लागि प्रयोग भइरहेको प्रोग्रामिङ ल्याङ्ग्वेज ‘पीएचपी’ मा गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएपछि विश्वव्यापीरूपमा नै लाखाैं वेबसाइटहरू सुरक्षा कमजोरी सच्याउन अफलाइन गरिएका थिए ।
केन्द्रका अनुसार, डाउन गरिएका १ हजारभन्दा बढी सरकारी वेबसाइटहरू आइतबार साँझदेखि पुनः सञ्चालनमा आएका छन् । इन्स्योरेन्स खबरले जाँच गर्दा गृह मन्त्रालयको वेबसाइट खुलेको थिएन, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतको वेबसाइट खुलेका थिए।
केन्द्रले पीएचपीमा देखिएको संभावित सुरक्षा कमजोरीहरू पहिचान, जाँच र भेदन समेतको परिक्षण गरेर सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । बेवसाइट सञ्चालनमा आएसँगै अनलाइनमार्फत् उपलब्ध सरकारी सेवाहरू पनि पुनःस्थापना गर्दै लैजाने भएको छ।












