काठमाडौं ।रुवाण्डाको किगालीमा जारी इन्क्लुसिभ इन्स्योरेन्स २०२६ (समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन) मा बीमा सेवा प्रदायकहरूलाई सर्वसाधारणको पहुँचमा पुग्ने गरी सस्तो र प्रभावकारी सेवा दिन आग्रह गरिएको छ।
स्थानीय सञ्चारगृह न्युज टाइम्सका अनुसार, सम्मेलनमा वक्ताहरूले बीमाको दायरा बढाउनु मात्र पर्याप्त नभई वित्तीय जोखिमबाट बचाउन अर्थपूर्ण सुरक्षा प्रदान गर्ने खालका बीमा योजनाहरू ल्याउनुपर्नेमा जोड दिएका छन्।
रूवाण्डाले आफ्नो राष्ट्रिय बीमा रणनीतिअनुसार सन् २०३५ सम्ममा बीमाको पहुँच ४५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ। फिनस्कोप २०२४ को सर्वेक्षणअनुसार व्यक्तिगत बीमा लिने वयस्कहरूको संख्या सन् २०२० मा १७ प्रतिशत अर्थात् १२ लाख रहेकोमा २०२४ मा बढेर २७ प्रतिशत अर्थात् २१ लाख पुगेको छ।
सुलभ र भरपर्दो सेवास् रुवाण्डा राष्ट्रिय बैंककी गभर्नर सोराया हाकुजियारेम्येले उच्च बीमा पहुँच आफैंमा अन्तिम लक्ष्य नभई नागरिकको विश्वास जित्दै सही सुरक्षा प्रदान गर्ने माध्यम हुनुपर्ने बताइन्। उनले डिजिटल प्रविधि र नवीनतामार्फत कम सेवा पुगेका वर्गसम्म बीमा पुर्याउनुपर्ने औंल्याइन्।
रुवाण्डा सरकारले कृषकहरूका लागि ४० प्रतिशत अनुदानसहितको कृषि बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ, जुन सार्वजनिक र निजी क्षेत्रको सहकार्यको एक उत्कृष्ट उदाहरण हो।
रुवाण्डा इन्स्योरेन्स एसोसिएसनका अध्यक्ष एन्ड्रयू कुलायिगेले सन् २०२३ मा विश्वभर प्राकृतिक विपत्तिका कारण २६९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएकोमा केवल ४० प्रतिशत मात्र बीमा कभरेजभित्र परेको जानकारी दिए। पर्याप्त बीमा नहुँदा कमजोर परिवारहरूले आफ्नो बचत सिध्याउन वा ऋण लिन बाध्य हुनुपर्ने उनको भनाइ छ।
म्युनिख रि फाउण्डेशनकी अध्यक्ष रेनाटे ब्लीच र माइक्रोइन्स्योरेन्स नेटवर्ककी कार्यवाहक बोर्ड अध्यक्ष लउरा एलेना रोसाडोले जलवायु परिवर्तन र स्वास्थ्य आपतकालजस्ता जोखिमहरूबाट बच्न सबै क्षेत्रबीच सहकार्य गर्दै प्रभावकारी बीमा उत्पादनहरू बनाउनुपर्नेमा जोड दिए।












