काठमाडौं । न्याैपाने समूह अन्तर्गतको उपक्रम अम्बे स्टील्स लिमिटेको बाँके जानकी गाउँपालिका–५ बकसपुरस्थित स्टील उद्योगमा बिहीबार बिहान भएको भीषण आगलागी १३ घण्टापछि नियन्त्रणमा ल्याउन सफलता मिलेको छ।
फर्नेश आयलको ट्याङ्कीमा बिहीबार बिहान करिब १ः३० बजेतिर भएको आगलागी दमकल, उद्योगका मजदुर र सुरक्षाबलको सहयोगमा दिउँसो २ः३० बजेतिर नियन्त्रणमा ल्याउन सफलता मिलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
आगलागीका क्रममा कुनै पनि मानवीय क्षति नभएको प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार, फलाम पगाल्नका लागि आवश्यक उच्च तापक्रमयुक्त ताप उत्पन्न गर्न प्रयोग हुने फर्नेश आयल भण्डारण गरिएको ट्याङ्कीमा एक्कासी आगलागी भएको थियो। उद्योग प्रशासनले २ लाख लिटर इन्धन वहन क्षमताको ट्याङ्कीमा आगलागी भएको हो । घटनाबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
उद्योगले हालै मात्र प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर जारी गर्ने घोषणा गरेको थियो । उद्योगका अनुसार स्थानीयबासिन्दा र सर्वसाधारणका लागि कुल १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता शेयर निष्काशन गर्न योजना छ। कम्पनीले प्रति शेयर रू. २०३ प्रिमियम सहित प्रति कित्ता जम्मा रू. ३०३ का दरले शेयर निष्काशन गर्ने घोषणा गरेको थियो । यसका लागि आवश्यक प्रकृया पुरा गर्न शेयर निष्काशन व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई दिएको छ।












