काठमाडौं । बीमा भविष्यको सुरक्षाको साथी एवं लगानि पनि हो । बीमितले भविष्यमा आई पर्ने जोखिमको भार बीमा कम्पनी वा बीमकमा सार्नु नै बीमा गर्नु हो । हामी जो कोहि पनि भविष्यको बारेमा अनविज्ञ हुन्छौँ । बीमा प्रक्रियामा बीमितको जीवनमा पर्न सक्ने सम्भावित जोखिमलाई बीमकले वहन गर्छ । भविष्यमा आई पर्न सक्ने जोखिमहरुसँग सामना गर्नका लागि बीमा गरिन्छ ।
मानविय जीवनमा जोखिमहरु धेरै हुन्छन् । बीमा जोखिम हस्तान्तरण गर्ने एक मुख्य उपाय पनि हो । बीमा विमित र बीमका बीचमा हुने एक किसिमको कानुनि प्रावधान हो । यी दुई पक्ष बीच एक आपसमा सम्झौता भई बीमाको अन्य प्रक्रियाहरु अगाडि बढाईन्छ ।
आज पनि हाम्रो समाजमा बीमा के हो र यसको के महत्व छ ?किन गर्ने बीमा ? बीमा गर्दा के फाईदा हुन्छ ? भन्ने मनसाय बोकेका व्यक्तिहरु पनि पाईन्छन् । उनीहरुमा आजसम्म पनि बीमा सम्बन्धी ज्ञानको अभाव रहेको छ । यस्तो परिस्थितिमा बीमा व्यवसाय फस्टाउन सकेको छैन । बीमा अभिकर्ता सक्रिय नहुनु, बीमित स्वयमं इच्छुक नहुनु, उपयुक्त नीति तथा नियम नहुनु साथै भएको नीति नियमको पनि उचित रुपमा कार्यान्वयन नहुनु जस्ता प्रमुख कारणहरुले गर्दा बीमा क्षेत्रमा सुधार आउन सकेको छैन् भन्दा खासै फरक नर्पला ।
बीमाका विभिन्न प्रकारमध्ये जीवन बीमा एक हो । मानिसको जीवन सँग सम्बन्धित जोखिमको विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । बीमितको भविष्यमा आईपर्न सक्ने सम्भावित जोखिम विरुद्ध लड्न सक्ने सामर्थ जीवन बीमाले प्रदान गर्दछ । जीवन बीमा गर्दा हुने फाईदाहरु धेरै रहेका छन् ।
भविष्यमा पर्न सक्ने जोखिम लाई सामना गर्न सक्ने क्षमता बीमा कम्पनिले बीमितलाई प्रदान गर्दछ । जीवन बीमा अन्तर्गत बीमा गर्ने व्यक्ति दुर्घटनामा पर्यो भने उसलाई उपचार खर्चको अभाव हुदैन किनकी त्यो जिम्मेवारी बीमा कम्पनीले वा बीमकले बोकेको हुन्छ । यदि बीमितको मृत्यु भई हालेमा उसको परिवारले आर्थिक अभावको समस्यामा अल्झि रहनु पर्दैन । बीमा दाबी वापत बीमितको परिवारले विमितको मृत्यु भए पनि उसको परिवारलाई राहत पुग्दछ ।
यदि एउटा सानो बच्चाको आजै बीमा गरेकोमा भोलि उ ठुलो भए पछि उसको भविष्यको लागि आवश्यक खर्चका लागि पनि राहत मिल्दछ । उसको भविष्यको सुरक्षा पनि हुन जान्छ। यसै गरि बीमाका अन्य फाईदाहरु निम्न रहेका छन्
जीवन बीमा गर्नैपर्ने महत्वपुर्ण कारण
बचत र लगानी
जीवन बीमा जोखिम हस्तान्तरणको एक साधन मात्र नभई बचत र लगानी पनि हो । जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन पनि हो । यद्यपि यसले जोखिम बहनभन्दा पहिले बचत गराएको हुन्छ । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन, ती व्यक्तिहरुले हरेक वर्ष प्रियिम बापत निश्चित रकम बुझाउँदै जान्छन्। यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै घटना घट्यो भने बीमा कम्पनीहरुले क्षतिपुर्ति बहन गर्दछ । यदि बीमा गरेका व्यक्तिहरुमा तोकिएको समय अवधिसम्म कुनै घटना भएन भने बीमा कम्पनीहरुले प्रतिफलसहित उक्त रकम फिर्ता गर्दछन् । त्यसकारण बीमा एक किसिमको बचत पनि हो ।
बोनश
जीवन बीमा गर्दा धेरै फाइदा हुन्छ । इन्स्योरेन्स गराए वापत बोनस प्राप्त हुन्छ । मानिसहरुले जीवन बीमा गरेका हुन्छन् । बीमा समयअवधी सकिसकेपछि बीमीतमा कुनै घटना घटेको छैन भने बीमा गरेको कुल रकममा बोनस थप गरी रकम दिने गर्दछ । त्यसकारण बीमा गर्नु फाइदा छ ।
आर्थिक जोखिमको हस्तान्तरण
हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ । अर्थात कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ, त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । ऊ नहुँदा यो सबै कुरामा परिवारमा आर्थिक संकटको सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बीमा गर्नुपर्ने हुन्छ ।
पारिवारीक जिम्मेवारीको जोखिम बहन
मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बीमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।
भविष्यको योजना निर्माण गर्न
हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा धेरै माथि हुन्छ । भविष्यका योजनाहरु हामीसँग धेरै हुन्छन् । सोही अनुसार हामी दैनिकि चलाईरहेका हुन्छौँ । काम गरिरहेका हुन्छौँ । कुनै पनि व्यक्तिले देखेका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।
मुलुकको विकासमा टेवा
हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि केही योगदान होस् भन्ने चाहना राख्छ । पूर्वाधार निर्माणमा सबैभन्दा बढी पूँजी जीवन बीमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बीमा उपयुक्त माध्यम हो ।
सन्तानको शिक्षा
हरेक अभिभावकले आफ्ना सन्तान शिक्षित बनुन भन्ने चाहाना राखेका हुन्छन् । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिँन्छ भन्ने यसैले देखाउँछ ।
परनिर्भरता उन्मूलन
जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन अन्य व्यक्तिमाथि आश्रित हुनुपर्दैन । बीमा गरेपछि बीमितको मृत्युपछि उसको परिवारलाई बीमाको एकमुष्ट रकम, बोनश आउने गर्दछ ।
ऋणको भारबाट छुटकारा
कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वा ऋण लिन्छ । व्यक्तिले बैंक, वित्तीय संस्था वा व्यक्तिबाट ऋण लिने गर्दछन् । लिएको ऋण चुक्ता नहुँदै भएमा उसको परिवारका सदस्यलाई समस्या उत्पन्न हुन पुग्छ । यदि उसले आफुले लिएको ऋणको बीमा गर्यो भने कम्पनीले ऋणको जोखिम बहन गर्छ ।
जीवन सुरक्षा
इन्स्योरेन्सबाट बोनसभन्दा पनि महत्वपुर्ण पक्ष भनेको जीवनको सुरक्षा हो । जीबन बीमाले मानिसको मृत्युपछि मात्र नभएर कुनै घातक रोक लाग्यो भने पनि त्यसको उपचारका लागि पैसा दिने गर्दछ । मानिसको जीवनमा अनेक प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिमध्ये सबैभन्दा ठुलो विपत्ति मृत्यु हो । रोगव्याधि, दुर्घटना वा अन्य कुनै कारणले मानिसहरुको अकाल मृत्यु हुन सक्छ । यस्तो अवस्थामा मृतकको परिवारलाई आर्थिक टेवा दिने माध्यम भनेको बीमा नै हो ।












