काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकलाई सवारीसाधन किन्न ५० लाख रुपैयाँसम्म ऋण सहुलियतमा पाउने भएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ गरेको छ। यो संशोधनसहितको नियमावलीमा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन्। माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले भने ४ लाख रुपैयाँसम्मको दुईपांग्रे सवारीसाधन खरिद गर्न सक्ने प्रस्ताव गरिएको छ।
सरकारले सवारीसाधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सहुलियतस्वरुप व्यहोर्ने व्यवस्था संशोधित नियमावलीमा प्रस्ताव गरिएको छ। बाँकी २० प्रतिशत रकम भने शिक्षक आफैँ व्यवस्थापन गरी सवारीसाधन खरिद गर्न सक्नेछन्।
शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्ने प्रस्ताव गरिएको छ।












