काठमाडौं । विश्व लगानीकर्ता सप्ताहका अवसरमा प्रिमियर सेक्युरिटिज र पोखरा बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा विद्यार्थीका लागि पुँजीबजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
विद्यार्थीमा वित्तीय ज्ञान, पुँजीबजारको आधारभूत अवधारणा तथा सुरक्षित र सुझबुझपूर्ण लगानीसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पोखरा बहुमुखी क्याम्पसका अध्ययनरत विद्यार्थीको बाक्लो उपस्थिति थियो। कार्यक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुली र प्रिमियर सेक्युरिटिजका दलबहादुर थापाले अतिथि मन्तव्य राख्दै आ–आफ्ना महत्वपूर्ण भनाइ राखेका थिए।
त्यस क्रममा प्रिमियर सेक्युरिटिज पोखरा शाखाका प्रमुख तथा कार्यक्रम सञ्चालक दीपक पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए भने प्रिमियर सेक्युरिटिजतर्फबाट सूर्यप्रसाद खनालले मुख्य वक्ता तथा सहजकर्ताका रुपमा प्रस्तुतीकरण दिएका थिए। खनालले शेयर बजारको कार्यशैली, प्राथमिक निष्कासन –आइपीओ), द्वितीय बजार, डिम्याट खाता, जोखिम व्यवस्थापन तथा लगानी गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण पक्षहरुका बारेमा व्यावहारिक रुपमा जानकारी गराए।
प्रस्तुतिका क्रममा खानालले पुँजीबजारले देशको समग्र अर्थतन्त्रमा पुर्याउने योगदानमा चर्चा गर्दै युवा विद्यार्थीले सानै उमेरदेखि वित्तीय साक्षरता हासिल गरी कसरी सबल र सुरक्षित भविष्य निर्माण गर्न सक्छन् भन्ने विषयमा जोड दिए।
कार्यक्रमको अन्त्यमा विद्यार्थीसँग प्रश्नोत्तरसत्र सञ्चालन गरिएको थियो। जहाँ खनालले विद्यार्थीका पुँजीबजारसँग सम्बन्धित विभिन्न जिज्ञासा तथा प्रश्नको समाधान गरे।
विश्व लगानीकर्ता सप्ताहको उपलक्ष्यमा सञ्चालित यस कार्यक्रमले विद्यार्थीमा सही लगानी संस्कृति बसालन र वित्तीय रुपमा सचेत नागरिक तयार पार्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजक संस्थातर्फबाट व्यक्त गरिएको छ।












