काठमाडौं । इन्फिनिक्सले आफ्नो जीटी सिरिजअन्तर्गत नयाँ गेमिङ स्मार्टफोन इन्फिनिक्स जीटी ५० प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । गेमर तथा उच्च कार्यक्षमता चाहने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको फोनमा उन्नत कुलिङ प्रणाली, उच्च फ्रेमरेट गेमिङ क्षमता र गेमिङ नियन्त्रणका लागि विशेष सुविधा उपलब्ध छन् ।
‘लिक्विड फ्लो, हाइपर परफर्मेन्स’ अवधारणामा आधारित जीटी ५० प्रोमा हाइड्रोफ्लो लिक्विड कुलिङ, १४४ एफपीएस गेमिङ इकोसिस्टम र प्रेसर–सेन्स जीटी ट्रिगर्स लगायतका सुविधा रहेका छन् । कम्पनीका अनुसार यी प्रविधिले गेमिङलाई सहज, छरितो र प्रभावकारी बनाउन सहयोग गर्छन् ।
नेपालमा जीटी ५० प्रो १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसको मूल्य ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ । कम्पनीले फोन खरिदमा शून्य प्रतिशत ईएमआई सुविधा पनि उपलब्ध गराएको छ । जसअन्तर्गत मासिक किस्ता ४ हजार २५० रुपैयाँदेखि सुरु हुने जनाइएको छ । यसका लागि फोनको खुद्रा मूल्य ८४ हजार ९९९ रुपैयाँ, डाउन पेमेन्ट ५० हजार ९९९ रुपैयाँ र फाइनान्स रकम ३४ हजार रुपैयाँ रहेको छ ।
जीटी ५० प्रोमा लामो समयसम्म गेम खेल्दा वा अन्य उच्च कार्यक्षमताका एप चलाउँदा उत्पन्न हुने तापक्रम व्यवस्थापनका लागि हाइड्रोफ्लो लिक्विड कुलिङ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले लामो गेमिङ सत्रमा कार्यक्षमता स्थिर राख्न सहयोग गर्ने दाबी कम्पनीको छ ।
फोनमा रहेको १४४ एफपीएस गेमिङ इकोसिस्टमले गेमिङलाई सहज र तरल बनाउन सहयोग गर्ने जनाइएको छ । विशेषगरी तीव्र गतिका तथा प्रतिस्पर्धात्मक खेलमा उच्च फ्रेमरेटले दृश्य र प्रतिक्रियालाई थप प्रभावकारी बनाउने कम्पनीको भनाइ छ ।
गेमिङका क्रममा थप नियन्त्रणका लागि फोनमा प्रेसर–सेन्स जीटी ट्रिगर्स दिइएको छ । टचस्क्रिनबाहेक थप नियन्त्रण विकल्प उपलब्ध गराउने यी ट्रिगर्सले तीव्र गतिका खेलमा आदेश दिन सहज बनाउने कम्पनीले जनाएको छ ।
जीटी ५० प्रोमा डल्बी एटमससहितको ध्वनि प्रणाली पनि रहेको छ । यसका साथै हाइ–रेस अडियो र हाइ–रेस अडियो वायरलेसको समर्थन रहेको जनाइएको छ ।
फोनमा एन१ नेटवर्क चिपसमेत रहेको छ । गेमिङका क्रममा नेटवर्क स्थिरता र प्रतिक्रियाशीलता महत्वपूर्ण हुने भएकाले नेटवर्कसम्बन्धी अनुभवलाई थप प्रभावकारी बनाउन उक्त चिपले सहयोग गर्ने कम्पनीको दाबी छ ।
जीटी ५० प्रोमा जीटी सिरिजको विशिष्ट तथा आकर्षक डिजाइनलाई निरन्तरता दिइएको छ । गेमिङ तथा डिजिटल जीवनशैली मन पराउने प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको फोनमा विशेष गेमिङ नियन्त्रण, उन्नत कुलिङ प्रणाली र गेमिङ केन्द्रित प्रणाली उपलब्ध छन् ।
जीटी ५० प्रोको शून्य प्रतिशत ईएमआई सुविधा गुडविल फाइनान्स लिमिटेड, निओफिन हायर पर्चेज प्रालि र एमएडब्लूमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । ईएमआई सुविधा लिन ग्राहकले आवेदनका क्रममा वैध नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्नेछ ।












