काठमाडौं । निजी क्षेत्र प्रवर्द्धित वायु सेवा कम्पनी यती एयरलाइन्स लिमिटेडले आफ्ना सम्पूर्ण अमेरिकी डलर (यूएसडी) मा आधारित बैंक ऋणहरुलाई नेपाली रुपैयाँमा रुपान्तरण गरेको छ। वैदेशिक मुद्रामा रहेको ऋणलाई नेपालीमा रुपान्तरण गर्दा एकै पटक ३२ करोड ७० लाख रुपैयाँ घाटा व्यहोर्नु परेको छ।
यति ठूलो घाटा एकै झड्कामा व्यहोर्नु पर्दाको नोक्सानीका कारण कम्पनीको गत आर्थिक वर्ष (आव) २०८२।८३ को खुद नाफा ६४ करोड ८० लाख रुपैयाँबाट स्वाट्टै घटेर १८ करोड १० लाख रुपैयाँमा झर्न पुगेको छ। कम्पनीले २ करोड ७१ लाख ९० हजार अमेरिकी डलरको ऋण नेपाली मुद्रामा रुपान्तरण गरेको हो।
विदेशी मुद्रामा ऋण लिने समयको अमेरिकी डलरको विनिमय दर र नेपाली मुद्रामा रुपान्तरण गर्दाको अमेरिकी डलरको विनिमय दरमा ठूलो अन्तरले गर्दा कम्पनीले रुपान्तरणका क्रममा एकैपटक चर्को घाटा थेग्न बाध्य भएको हो।
सार्वजनिक शेयर निष्कासनको तयारीमा रहेको कम्पनीले यति ठूलो रकम एकै साथ घाटा व्यहोर्ने गरी किन नेपाली रुपैयाँमा ऋण रुपान्तरण गर्नुपर्यो भन्ने सर्वसाधारणमा जिज्ञासा हुन सक्छ। यसको कारण बुझ्नका लागि पहिले यसको केही पृष्ठभूमि पनि बुझ्नुपर्ने हुन्छ।
मध्यपूर्वमा अमेरिकी नेतृत्वमा इरानमाथि गत फेब्रुअरी २८ तारेखदेखि निरन्तर जारी युद्धका कारण अमेरिकी डलर(मुद्रा)को भाउ थोरै समयका लागि घटे पनि लामो समयसम्म निरन्तर उकालो लागिरहेको छ। गत फेब्रुअरी २८ मा १ अमेरिकी डलरको विनिमय दर १४३.९१ रुपैयाँ कायम रहेकोमा अक्टोबर २ अर्थात् असोज १६ गते यो उक्लिएर १५४.९८ रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर विश्लेषण र प्रक्षेपण गर्दै आएको ट्रेडर्स युनियनको विश्लेषणअनुसार अमेरिकी डलरको विनिमय दर सन् २०२७ को अक्टोबर महिनाको अन्त्यसम्ममा १६५ रुपैयाँको हाराहारी पुग्ने अनुमान छ। अमेरिकी डलरको विनिमय दर बढ्दै जाँदा नेपाली मुद्रा कमजोर हुने र क्रय क्षमता घट्ने हुन्छ। यसले गर्दा अहिलेको भन्दा अझै धेरै नेपाली रुपैयाँ भुक्तानी गर्नुपर्ने बाध्यता आइपर्नेछ। यसर्थ अमेरिकी डलरमा कायम रहेको ऋणलाई प्रचलित विनिमय दरको आधारमा नेपाली रुपैयाँमा रुपान्तरण गर्दा मुद्रा अवमूल्यनको जोखिमबाट मुक्त हुने अवसर मिलेको छ।
अन्तर्राष्ट्रिय व्यापार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी राष्ट्रको आयातमा प्रतिबन्ध वा उच्च भन्सार दर लागू गर्ने नीति, मध्यपूर्वमा अमेरिकी नेतृत्वमा जारी युद्ध, सामुद्रिक मार्गमा नाकाबन्दी र युद्धका कारण विश्वभर देखिएको मन्दीसँगै अमेरिकी डलरको भाउ बढ्दै गएको छ।

नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर निरन्तर बलियो हुँदै जाँदा एयरलाइन्सहरुले ठूलो विनिमय घाटा व्यहोर्नुपर्ने बाध्यता थियो। सम्पूर्ण ऋण नेपाली रुपैयाँमा आएपछि अब डलरको भाउ बढे पनि ऋणको सावाँ ब्याज भुक्तानीमा अतिरिक्त वित्तीय भार पर्ने छैन। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापनसम्बन्धी प्रावधानमा भएको संशोधनपछि कम्पनीले यो कदम चालेको हो।
तत्कालका लागि वित्तीय विवरणमा ठूलो नोक्सानी देखिए पनि दीर्घकालीन रुपमा भने यस निर्णयले कम्पनी र यसका शेयरधनीहरुलाई निम्नानुसार बलियो फाइदा पुर्याउनेछ । विदेशी विनिमय दरको जोखिम अन्त्य हुनुका साथै नेपालको वित्तीय प्रणालीमा कायम रहेको सहज तरलताका कारण हाल बैंकहरुको ब्याजदर घट्दो क्रममा छ। यसले गर्दा कम्पनीको ब्याज कभरेज अनुपात आव २०८१।८२ को २.९८ गुणाबाट सुधार भई आव २०८२।८३ मा ३.५४ गुणा पुगेको छ।
आगामी वर्षहरुमा विनिमय दरको ठूलो उतारचढावले नाफानोक्सान हिसाबलाई आकस्मिक झट्का दिने छैन। यसले कम्पनीको सञ्चालन नाफालाई शुद्ध नाफामा परिणत गर्न सहज बनाउनेछ। जसको प्रत्यक्ष लाभ शेयरधनीहरुले नियमित लाभांशका रुपमा पाउनेछन्।












