काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ। बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार र त्यहाँका नागरिकहरुले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे। यसका साथै उनले नेपालको यो विपदमा उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गरे। खासगरी अस्ट्रेलियाले विशेषज्ञसहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएको तथा आर्थिक सहयोग गरेकोमा उनले आभार व्यक्त गरे।
यसैगरी प्रधानमन्त्री शाहले नेपालमा बाढीका कारण बेपत्ता हुनु भएका अस्ट्रेलियाली नागरिकहरुको पनि खोजी कार्य तीव्र पारिरहेको बताए। उनले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपदको यो क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अस्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताए।
संवादका क्रममा अस्ट्रेलियाका प्रधामन्त्रीले विपदका कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गरेका थिए।












