काठमाडौं । जीवन बीमा कम्पनीहरूको संगठन, जीवन बीमक संघ नेपालको अध्यक्ष पद विगत डेढ महिनादेखि रिक्त रहेको छ। संघको अध्यक्ष प्रविण रमन पराजुली नेपाल लाईफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट पहिलो कार्यकाल पुरा गरेर बाहिरिएपछि संघको अध्यक्ष पद रिक्त हुन पुगेको हो।
गत साउन ३ गते नेपाल लाईफ इन्स्योरेन्समा ४ वर्षे पहिलो कार्यकाल पुरा गरेपछि पराजुली र नेपाल लाईफ इन्स्योरेन्सबीचको औपचारिक सम्बन्ध विच्छेद भएको थियो। कम्पनीले नेपाल स्टक एक्सचेञ्जमा साउन १ गते दिएको लिखित जानकारी अनुसार, २०८३ साउन ४ गतेदेखि साउन २८ गतेसम्म सीईओ पद रिक्त रहेको थियो। यो अवधिमा पराजुली सीईओ पदमा कायम नरहेकाले साउन ४ गतेदेखि नै उनी संघको अध्यक्ष पदबाट उनी स्वतः मुक्त भएका हुन् ।
यसअघि आइएमई लाइफ इन्स्योरेन्सको सीईओ पदबाट राजीनामा गरेर बाहिरिए लगत्तै कवि फुयाँलको संघको पदाधिकारी वा सदस्यको हैसियत पनि गुमेको थियो।
पराजुलीको पहिलो कार्यकाल सकिएसँगै अध्यक्ष पद रिक्त हुन पुगेकाले अर्को वार्षिक साधारण सभा नभएसम्मका लागि संघको कार्य समितिको बैठकबाट निर्णय गरेर कार्य समितिका अन्य पदाधिकारीमध्येका कसैलाई कार्यवाहक अध्यक्ष तोक्न सक्छ।
जीवन बीमक संघको विधान अनुसार, संघको सदस्यता सम्बन्धित जीवन बीमकमा निहित रहन्छ र, जीवन बीमा कम्पनीको बहालवाला सीईओले मात्र कम्पनीको प्रतिनिधित्व गर्दै संघमा सहभागिता जनाउन पाउँछन् ।
पराजुलीले साउन २९ गतेदेखि पुनः नेपाल लाईफ इन्स्योरेन्समा दोश्रो कार्यकालका लागि सीईओको पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहण गरेलगत्तै पुनः संघको सदस्यता प्राप्त गरेपनि साधारण सभाबाट निर्वाचित हुनुपर्ने भएकाले उनको अध्यक्ष पद गुमेको छ। २०८२ भदाै २९ गते ठमेलस्थित एक होटलमा सम्पन्न छैठाैं साधारण सभाबाट पराजुली अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
संघको विधान अनुसार, साधारण सभाबाट निर्वाचित कार्य समितिको कार्यकाल २ वर्षको हुन्छ। संघको अध्यक्ष निर्वाचित व्यक्ति दोश्रो पटक पुनः अध्यक्ष नियुक्त हुन पाउने व्यवस्था भएपनी हालसम्म दोहोरिएर अध्यक्ष कोहि पनि भएका छैनन् ।












