काठमाडौं । हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पु-याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रु. ४ लाख आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको रकमको चेक संस्थाका अध्यक्ष डा.मान बहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बरालले नेपाल सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलाई हस्तान्तरण गरे । सोही अवसरमा वहाँहरुले माननीय मन्त्री सीता बादीलाई भेटी रकम हस्तान्तरणका साथै थप राहत संकलन गर्ने संस्थाको योजना बारे जानकारी गराए ।
विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि राज्यद्वारा सञ्चालन भइरहेका प्रयासमा संस्थाको तर्फबाट समेत सहयोग पु¥याउने उद्देश्यले उक्त आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष डा.मान बहादुर बीकेले बताए ।
यसै सन्दर्भमा संस्थाले बाढी प्रभावितहरूको सहयोर्गाथ आफ्ना कर्मचारीहरूको एक दिन बराबरको तलब तथा भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ । साथै, संस्थासँग आबद्ध सदस्य तथा उनीहरूका परिवार प्रभावित भए/नभएको पहिचान गर्न आवश्यक तथ्यांक संकलन गर्ने, प्रभावित व्यक्तिको खोज तथा उद्धारमा सहजीकरण गर्ने र स्वेच्छिक रूपमा राहत रकम वा जिन्सी सहयोग गर्न चाहने सदस्यहरूबाट सम्बन्धित शाखा मार्फत सहयोग संकलन गरी प्रभावित क्षेत्रमा पु-याउने व्यवस्था मिलाइएको छ ।
यसै क्रममा बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति संस्थाले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । संस्थाले आफ्नो रणनीतिक योजना अन्तर्गत विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्व सम्बन्धी जनचेतनामूलक कार्यक्रम समुदायस्तरमा सञ्चालन गर्दै आईरहेको छ ।
विगतमा समेत विपद्को समयमा आर्थिक तथा जिन्सी राहत सहयोग प्रदान गर्दै आएको संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने संस्थाका का.मु.प्रमुख कार्यकारी अधिकृत इन्द्र बरालीले जनाए ।
स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण भन्ने मुख्य अभियानका साथ २०६७ सालमा स्थापित यस संस्थाले वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका र पारीएका समुदायमा सामुदायिक वित्तीय सेवा पु¥याउने र समुदायमा रहेको रैथाने शिप तथा पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्दै आइरहेको छ ।
संस्थाले जलवायु परिवर्तनलाई लक्षित गरी स्थापनाकाल देखि नै हरित लगानीलाई प्रार्थमिकता दिदै आएको छ । हाल पर्सा देखि कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ३७,००० सदस्यहरुलाई संस्थामा आवद्ध गरी सामुदायिक वित्तीय सेवा पु-याईरहेको छ ।












