काठमाडौं । सरकारले बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न ३ स्थान तोकेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले ३ वटा स्थान तोकेको हो। विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ।
यसैगरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ।
बाढीप्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ–संस्थाले सरकारले तोकेका तिनै स्थानमा सामग्री पुर्याउनुपर्नेछ।
सम्पर्क व्यक्ति तथा स्थान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (राष्ट्रिय आपतकालीन गोदामघर)
सम्पर्कः श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) – ९८४१८७९२२२
नेपाली सेनाको मैथेली ब्यारेक (बट्टार, नुवाकोट)
सम्पर्कः आविष्कार (नेपाली सेना) – ९८५१२३४३२४
बैरेनी ब्यारेक (धादिङ)
सम्पर्कः दिलिप घले – ९८५११५४२२६
यसबाहेक इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्नेछन्। यसका साथै आर्थिक सहयोग गर्न चाहनेहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा योगदान पुर्याउन सक्नेछन्।












