काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित भएको बताएका छन्।
आफ्नो फेसबुक पेजमार्फत प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था र उद्धार कार्यबारे जानकारी गराएका हुन्। ‘आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ’, उनले लेखेका छन्, ‘यस क्रममा हातेमालो गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
देशले अकल्पनीय रुपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको पनि शाहले बताए। ‘सिंगो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ’, उनले भने।
प्रधानमन्त्री शाहका अनुसार आज बिहानै ६ः३० बजेदेखि उद्धारका लागि उडानहरु सुरु भइसकेका छन्। ‘बिहानदेखि यति बेलासम्म १५ भन्दा बढी उडान भइसकेका छन् र थप हेलिकोप्टर उडानका लागि तयारी अवस्थामा राखिएका छन्’, उनले भने।
नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेसनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको पनि प्रधानमन्त्री शाहले जानकारी दिए। ‘उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक छन्’, उनले भने, ‘यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।’
शाहले अत्यावश्यक सहयोग सामग्री द्रुत रुपमा पुर्याउने काम भइरहेको उल्लेख गरे। ‘प्रभावित स्थलहरुमा अत्यावश्यक सहयोग सामग्रीसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुंगा काट्ने मेसिन आदि पुर्याइँदैछ’, उनले भने।
छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुने शाहको भनाइ छ। ‘यसले सम्पर्क स्थापित गर्न सहयोग पुर्याउनेछ’, उनको विश्वास छ।
शाहका अनुसार नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ। ‘खाना तथा पानीको व्यवस्था गरिएको छ’, उनले भने।
ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी संकलन अन्तिम चरणमा रहेकोले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्ने प्रधानमन्त्री शाहको विश्वास छ। ‘उद्धारका क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकालाई प्राथमिकता दिइनेछ’, उनले भने, ‘सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्दछौँ।’












