काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरुको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुधबार साँझ सम्पन्न बैठकले प्रभावित क्षेत्रबाट घाइतेहरुलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको हो। गम्भीर घाइतेहरुलाई भने तत्काल उद्धार गरी काठमाडौं ल्याउने तयारी छ। घाइतेहरुको अवस्थाअनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथा उपचारलाई अघि बढाइनेछ।
यसैगरी प्रभावितहरुका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ।












