काठमाडौं । सरकारले रसुवा बाढीबाट प्रभावितहरुका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न आग्रह गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। महाविपत्तिको यस घडीमा केही व्यक्ति तथा समूहले प्रभावितहरुको राहातका लागि भन्दै आर्थिक सहयोग संकलन गर्न थालेको, कतिपयले नगद सहयोगका लागि क्यूआर कोडसमेत सेयर गरेको गुनासो प्राप्त भएको प्राधिकरणले जनाएको छ। ‘बाढी प्रभावितहरुको नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले आह्वान गरेबाहेक कुनै पनि संस्था वा व्यक्तिलाई आर्थिक सहयोग नगर्न र नगराउन अनुरोध छ।’
कोही कसैले अनाधिकृत रुपमा आर्थिक सहयोग संकलन गरिरहेको जानकारी प्राप्त भएमा प्राधिकरणको फोन नं. ०१–४२१११९७ मा सूचना दिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।
आज बिहान रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएपछि भोटेकोशी र त्रिशूल नदी किनारमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। घाइते तथा अलपत्र परेकाहरुको खोज तथा उद्धार कार्य भइरहेको र राहात वितरण पनि जारी रहेको प्राधिकरणले जनाएको छ।












