काठमाडौं । सर्वोच्च अदालतको आजको फैसलाले नेपाली कांग्रेसका निवर्तमान सभापति शेयरबहादुर देउवालाई झट्का लागेको छ। सर्वोच्चले विशेष महाधिवेशनसँग सम्बन्धित फैसलामा त्रुटि भएको भन्दै संशोधनको माग गरिएकोमा सच्याउन अस्वीकार गरेको हो।
निवर्तमान सभापति देउवाले गत वैशाख ४ गते भएको फैसलाको एक खण्डमा त्रुटि भएको भन्दै सच्याउन माग गरिएको रिटलाई बुधबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले अस्वीकार गरेको छ। वैशाख ४ मा भएको आदेशमा ‘नेपाली कांग्रेसको अवैधानिक विशेष अधिवेशनबाट निर्वाचित भएको भनिएको गगनकुमार थापाको अध्यक्षता भनी नामाकरण गरी प्रचारित गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति’ भनेर उल्लेख गरेको थियो।
रिट निवेदन दिँदा विपक्षी नबनाएको व्यक्ति अर्थात थापाको नाम नै उल्लेख नगरिएको तर फैसलामा आउँदा उल्लेख भएर आएको बताउँदै सच्याउन माग गर्दै देउवाले रिट निवेदन दिएका थिए। तर, सर्वोच्चले सच्याउन नमिल्ने गरी आदेश गरेको छ।












