काठमाडौं । नेपालका पाँच वटा निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुको पहलमा “टीभीईटी इन्डष्ट्री काउन्सील (टीआईसी)” स्थापना भएको छ । नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल महिला उद्यमी महासंघ र होटल संघ नेपालको संयुक्त पहलमा टीआईसी स्थापना भएको हो ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोग सदस्य रेशु अर्याल ढुंगाना, नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल लघु, घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष शोभा गुरुङ, नेपाल महिला उद्यमी महासंघ अध्यक्ष दर्शना श्रेष्ठ, होटेल संघ नेपाल अध्यक्ष विनायक शाह र नेपाल निर्माण व्यवसायी महासंघ उपमहासचिव मंगल शाहीले संयुक्त रुपमा टीआईसीको उद्घाटन गरे ।
नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रणालीलाई उद्योगमैत्री, मागमा आधारित सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख उद्देश्यसहित टीआईसी स्थापना गरिएको हो । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको यो संस्थाले उद्योगको आवश्यकता र श्रम बजारको मागअनुसार दक्ष जनशक्ति विकास गर्न सरकार, उद्योग, टीभीईटी प्रदायक संस्था तथा अन्य सरोकारवालाबीच सहकार्य तथा आवश्यक समन्वय गर्नेछ ।
टीआईसीले संघीय, प्रदेश तथा स्थानीय सरकार, उद्योग, सीटीईभीटी, एनएभीटी, टीभीईटी प्रदायक संस्था, विश्वविद्यालय, वस्तुगत संघ, सेक्टर स्कील कमिटी तथा विकास साझेदारसँग सहकार्य गर्दै नीति निर्माण, योजना, मापदण्ड विकास, पाठ्यक्रम सुधार, प्रमाणीकरण, प्रशिक्षार्थी कार्यक्रम, श्रम बजार अनुसन्धान तथा जनशक्ति विकासमा रोजगारदाताहरुकोतर्फबाट सामूहिक रुपमा काम गर्नेछ ।
नेपालको टीभीईटी प्रणालीमा तालिम र श्रम बजारको मागबीच रहेको सीप असन्तुलन प्रमुख चुनौतीका रूपमा रहेको छ । त्यस्तै टीभीईटीको नीति तथा सुशासनमा रोजगारदाताको सीमित सहभागिता, उद्योग र तालिम प्रदायकबीच कमजोर समन्वय, कार्यस्थलमा आधारित सिकाइका सीमित अवसर, उद्योगको आवश्यकता अनुकूल दक्षतामा आधारित मापदण्ड तथा पाठ्यक्रमको आवश्यकता र श्रम बजारसम्बन्धी सूचनाको कमी जस्ता चुनौतीहरु देखिएको छ । यिनै चुनौतीहरु सम्बोधनका लागि टीआईसीले प्रभावकारी रुपमा काम गर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बताए ।
टीआईसी शुभारम्भ समारोहमा परिसंघका अध्यक्ष पाण्डेले टीभीईटीको नीति निर्माणदेखि पाठ्यक्रम विकास, सीपको माग पहिचान, प्रशिक्षणको गुणस्तर, उद्योगमा आधारित सिकाइ तथा रोजगारीका परिणामसम्म निजी क्षेत्रको आवश्यकतालाई यो संस्थाले जोड्ने बताए ।
बजारको माग के हो ? उद्योगलाई आवश्यक पर्ने सीप र दक्ष जनशक्ति कस्तो हो ? आगामी दिनमा कुन–कुन क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुन सक्छन् भन्ने विषयमा निजी क्षेत्रबाट नियमित रूपमा सूचना र सुझाव संकलन गरी सम्बन्धित निकायसम्म पु¥याउने काम पनि यो संस्थाले गर्नेछ ।
उद्योगको माग र टीभीईटी प्रणालीबीच जति बलियो सम्बन्ध स्थापित हुन्छ, त्यति नै सीप विकासको परिणाम रोजगारी, उत्पादकत्व र आर्थिक रूपान्तरण गर्न सकिने विश्वासका साथ पाँच वटा संस्थाहरू एक ठाउँमा आबद्ध भएर टीभीईटी इन्डष्ट्रि काउन्सिल स्थापना गरिएको अध्यक्ष पाण्डेले बताए ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अघिकारीले धारणा राखे । परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले टीआईसी स्थापनाको उद्देश्यलगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने सो प्रस्तुतीकरणमा प्राध्यापक डा. उर्सुला रेनल्ड र विषयविज्ञ डा. रामहरी लामिछानेले धारणा राखे ।
टीभीईटीमा निजी क्षेत्रको नेतृत्व तथा सहभागिता सुदृढ गर्ने, उद्योगको माग र जनशक्तिको सीपबीचको खाडल कम गर्ने, माग–आधारित तथा बजार–उत्तरदायी तालिम प्रवद्र्धन गर्ने, उद्योग, सरकार, तालिम संस्था तथा विकास साझेदारबीच सहकार्यलाई सहजीकरण गर्ने काम यस संस्थाले गर्नेछ । त्यसैगरी, सीप विकास तथा रोजगारी प्रवद्र्धनसम्बन्धी नीतिका लागि पैरवी गर्ने, उद्योगमा आवश्यक नयाँ प्रविधि तथा सीपलाई टीभीईटी प्रणालीसँग जोड्ने र श्रम बजारसम्बन्धी अनुसन्धान तथा सूचना प्रणालीलाई सुदृढ गर्न यो संस्था लाग्नेछ ।
टीआईसीमा ११ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था गरिएको छ । संस्थापक सदस्य संस्थाहरुबीच प्रत्येक दुई वर्षमा नेतृत्व हस्तान्तरण हुनेछ । टीआईसीको पहिलो अध्यक्षका रूपमा नेपाल उद्योग परिसंघका अध्यक्षले नेतृत्व गर्ने व्यवस्था गरिएको छ । सञ्चालक समितिमा टीभीईटी तथा श्रम बजारका विज्ञहरूको समेत सहभागिता रहनेछ ।
टीआईसीमा हाल पाँच वटा संस्था आवद्ध रहेतापनि निजी क्षेत्रका अन्य प्रतिनिधिमुलक संस्थाहरुलाई पनि आवद्ध गर्दै लगिनेछ ।












