काठमाडौं । रसुवा जिल्लामा आएको आकस्मिक बाढी कारण विभिन्न जलविद्युत केन्द्रबाट विद्युत आपूर्ति बन्द भएको छ।
नेपाल विद्युत प्राधिकरणले आज एक सूचना जारी गर्दै ती जलविद्युत केन्द्रमा विद्युत आपूर्ति अवरुद्ध भएको जानकारी गराएको हो। प्राधिकरणका उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित रसुवागढी, चिलिमे, त्रिशूली ३ ए, त्रिशूली ३ वी हव २२० केभी सबस्टेसन, त्रिशूली तथा देवीघाट जलविद्युत केन्द्र एवं विभिन्न वितरण संरचनाहरु समेत क्षतिग्रस्त भएकोले विद्युत आपूर्ति अवरुद्ध हुन गएको छ।
प्राधिकरणले विद्युत आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दै आपूर्ति नियमित नहुन्जेलसम्म धैर्य गरिदिई सोहीबमोजिमको सूचना प्रवाह गरिदिनु हुनसमेत सम्बन्धित सबैमा आग्रह गरेको छ।
रसुवामा आएको आकस्मिक बाढीका कारण जनधनमा अपूरणीय क्षति पुग्नुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यो प्राकृतिक प्रकोपका कारण बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारण सबैको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षहरुलाई तत्काल प्रभावकारी रुपमा परिचालित भई सहयोग गरिदिनु हुन प्राधिकरणले आग्रह गरेको छ।
बाढीको जोखिम अझै कायम रहन सक्ने भएकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका राष्ट्रसेवक तथा प्राधिकरणका कर्मचारी र सर्वसाधारण सबैले उच्च सतर्कता अपनाउन तथा थप जोखिम देखिएमा सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन पनि प्राधिकरणले आग्रह गरेको छ। यसका साथै आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्नसमेत प्राधिकरणले अनुरोध गरेको छ।












