काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘टी प्लस टु’मै शेयर लगानीकर्तालाई रकम उपलब्ध गराउन स्टक ब्रोकरलाई निर्देशन दिएको छ।
धितोपत्र बोर्डले आज धितोपत्र दलाल तथा व्यापारी (स्टक ब्रोकर तथा डिलर)का नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। धितोपत्र कारोबारलाई सुदृद्ध, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरुको कारोबारको नियमन तथा अनुगमन गर्ने तथा गराउने उद्देश्यका लागि धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको धितोपत्र बोर्डले जनाएको छ।
चारबुँदे निर्देशनमा धितोपत्र कारोबारको टी प्लस दुई अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न भनिएको छ।
यसैगरी प्रत्येक ग्राहकको धितोपत्र कारोवारसँग सम्बन्धित हिसाव स्पष्ट देखिने गरी छुट्टाछुट्टै अभिलेख राखुपर्ने व्यवस्था रहेकोमा धितोपत्र बोर्डबाट निरीक्षणका क्रममा धितोपत्र दलाल व्यवसायीले सम्पूर्ण रक्रम एउटै बैंक खातामार्फत परिचालन गरेको देखिएकोले आगामी दिनमा धितोपत्र व्यवसायीको सञ्चालन र धितोपत्र कारोबारका लागि जम्मा हुने रकम फरक–फरक बैंक खाता प्रयोग गर्ने व्यवस्था मिलाउन पनि धितोपत्र बोर्डले निर्देशन दिएको छ।
धितोपत्र बोर्डले महिनाको कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन ब्रोकरहरुलाई निर्देशन दिएको छ। धितोपत्र कारोबारसम्बन्धी ग्राहकको गुनासा नेपाल सरकारलगायत विभिन्न निकायमा पेस हुने गरेकोमा सोलाई प्रभावकारी व्यवस्थापन तथा न्यूनीकरण गर्न प्रत्येक धितोपत्र दलाल व्यवसायीले लगानीकर्ता गुनासो समाधान इकाइ अनिवार्य रुपमा गठन गरी कार्य प्रक्रिया तोक्ने र गुनासा समाधानसम्बन्धी विवरण प्रत्येक महिना समाप्त भएको तीन कार्यदिनभित्र धितोपत्र बोर्डमा पेस गर्नुपर्ने निर्देशन दिएको छ।












