काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।८३ मा सवा ८६ अर्ब रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन्।
हालै प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार १४ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा ८६ अर्ब ३० करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीहरुले ७८ अर्ब ७२ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीहरुको दाबी भुक्तानी ९.६४ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्ष ९ वटा कम्पनीहरुको दाबी भुक्तानी बढेको छ भने ५ वटाको घटेको छ। सबैभन्दा बढी दाबी भुक्तानी गर्नेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले नेसनल लाइफ अगाडि रहेको छ।
समीक्षा वर्षमा नेपाल लाइफले २१ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले १९ अर्ब १९ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको दाबी भुक्तानी १२.४१ प्रतिशतले बढेको छ।
दोस्रो धेरै दाबी भुक्तानी गर्ने नेसनल लाइफ रहेको छ। गत आर्थिक वर्षमा यो कम्पनीले १३ अर्ब ९६ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ११ अर्ब ७ करोड १२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको दाबी भुक्तानी २६.१५ प्रतिशतले बढेको छ। यो वृद्धिदर जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै हो।
यसैगरी तेस्रोमा लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी नेपाल) रहेको छ। अघिल्लो वर्ष १२ अर्ब ५९ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी गरेको यो कम्पनीले समीक्षा वर्षमा १३ अर्ब ६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको दाबी भुक्तानी रकम ३.७६ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा नेपाल लाइफ, नेसनल लाइफ, एलआईसी नेपालसँगै राष्ट्रिय जीवन बीमा कम्पनी, हिमालयन लाइफ, मेटलाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र आइएमई लाइफको दाबी भुक्तानी बढेको छ। एसियन लाइफ, सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ, सन नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफको दाबी भुक्तानी भने घटेको छ।
गत आर्थिक वर्षमा सबैभन्दा कम दाबी भुक्तानी गर्नेमा प्रभु महालक्ष्मी लाइफ रहेको छ। यो कम्पनीले १ अर्ब ५ करोड १० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ८.६६ प्रतिशतले कम हो।
कुन कम्पनीको गत दाबी भुक्तानी ?













