काठमाडौं । शेयर बजारमा सबै लगानीकर्ताले मार्जिन ऋण कारोबार सुविधा नपाउने भएका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ल्याउन लागेको मार्जिन ऋण कारोबार नियमावलीमार्फत शेयर ब्रोकरबाट लगानीकर्ता पाउने मार्जिन ऋण कारोबार सुविधामा कडाइ गर्न लागिएको हो। शेयर कारोबारमा आउने सक्ने जोखिमलाई मूल्यांकन गर्दै नियमावलीमा मार्जिन ऋण कारोबार सुविधा पाउने लगानीकर्ताका लागि नयाँ मापदण्ड तय गरेको हो।
अब अनुमतिप्राप्त मार्जिन ऋण प्रदायक संस्थाले ग्राहक पहिचान, ग्राहको वित्तीय क्षमता, लगानी उद्देश्य तथा जोखिम वहन क्षमतासम्बन्धी मूल्यांकन पूरा गरेका ग्राहकलाई मात्र यो सुविधा प्रदान गर्नुपर्ने मापदण्ड नियमावलीमा तय गरिएको छ।
यो सुविधा धितोपत्र तथा प्रचलित कानुनबमोजिम कारोबार गर्न योग्य व्यक्ति तथा संस्था र धितोपत्र बोर्डले तोकेको अन्य योग्यता पूरा गरेका व्यक्ति तथा संस्थाले मात्र पाउनेछन्।
यसैगरी मार्जिन ऋण सुविधा प्रदान गर्नुअघि मार्जिन ऋण प्रदायक संस्थाले ग्राहकको उपयुक्तता अनिवार्य रुपमा मूल्यांकन गर्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ।
ग्राहक उपयुक्तताको मूल्यांकन
- ग्राहकको आय तथा सम्पत्ति अवस्था,
- लगानी अनुभव,
- धितोपत्र बजारसम्बन्धी ज्ञान,
- जोखिम वहन क्षमता,
- लगानी उद्देश्य,
- ऋण भुक्तानी क्षमता,
- धितोपत्र बोर्ड तोकेका अन्य आधार।
क–कसले पाउँदैनन् मार्जिन ऋण सुविधा ?
- प्रचलित कानुनबमोजिम धितोपत्र कारोबार गर्न अयोग्य घोषित व्यक्ति,
- कर्जा सूचना केन्द्रको कर्जा सूचना प्रतिवेदनमा कालोसूचीमा नरहेको,
- मार्जिन ऋणको गम्भीर दायित्व उल्लंघन (मटेरियल डिफल्ट) गरेको र तोकिएको अवधिसम्म अयोग्य घोषित ग्राहक,
- सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनबमोजिम उच्च जोखिमयुक्त वा प्रतिबन्धित ग्राहक,
- धितोपत्र बोर्डले सार्वजनिक हित वा बजार स्थायित्वका आधारमा अयोग्य तोकेको व्यक्ति वा संस्था,
- धितोपत्रसम्बन्धी कसुरमा सजाय भई ५ वर्ष पूरा नभएको व्यक्ति वा संस्था।
सेबोनले सार्वजनिक गरेको नियमावलीको मस्यौदामा सरोकारवाला निकायबाट रायसुझाव माग गरेको छ। प्राप्त सुझावको अध्ययन गरेरमात्रै नियमावली लागू गरिने सेबोनले जनाएको छ।












