काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन व्यापारलाई अनिवार्य रुपमा दर्ता गर्न निर्देशन दिएको छ।
विभागले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। विद्युतीय माध्यमबाट व्यापार–व्यवसाय गर्ने व्यवसायीहरुले व्यवसाय गर्नुपूर्व विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ बमोजिम अनिवार्य रुपमा विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्ने र विभागको पोर्टल सूचीकरण हुनुपर्ने प्रावधान रहेको छ।
हाल विभिन्न विद्युतीय माध्यम र डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्तामा भ्रम छर्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु तथा सेवा बिक्रीवितरण गर्नेजस्ता गुनासा तीव्रगतिमा बढिरहेकोमा विभागले ध्यानाकर्षण भएको जनाएको छ। अतः विद्युतीय माध्यम तथा प्लेटफर्मबाट वस्तु तथा सेवाको कारोबार सञ्चालन गर्ने सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको प्रक्रिया पूरा गरी अनिवार्य रुपमा विभागमा सूचीकरण हुन र प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गरेर मात्र व्यवसाय गर्न विभागले स्पष्ट पारेको छ।
यो सूचनाको बेवास्ता गरी सूचीकृत नभएका वा गैरकानुनी विद्युती प्लेटफर्महरुबाट व्यवसाय सञ्चालन गरेको पाइएमा विद्युतीय व्यापार ऐन, २०८१ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।












