काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।८३ मा कर्मचारीको तलबभत्तामा साढे ५ अर्ब रुपैयाँ बढी खर्च गरेका छन्।
हालै सार्वजनिक गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमकले कर्मचारीको तलबभत्तामा ५ अर्ब ५५ करोड ४१ लाख रुपैयाँ खर्च गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीहरुले कर्मचारीको तलबभत्तामा ५ अर्ब ४७ करोड ८६ लाख रुपैयाँ खर्च गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा खर्च १.३८ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा कर्मचारीको तलबभत्तामा सबैभन्दा धेरै खर्च गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ भने वृद्धिदरका हिसाबले ओरिएन्टल इन्स्योरेन्स अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा ७ वटा कम्पनीको खर्च बढेको छ भने ७ वटाको घटेको छ।
गत आर्थिक वर्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६८ करोड ६४ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेका छन्। अघिल्लो वर्ष यस्तो खर्च ६३ करोड ८८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खर्च ७.४६ प्रतिशतले बढेको छ।
कर्मचारीको तलबभत्तामा दोस्रो धेरै खर्च गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले गत आर्थिक वर्षमा ६२ करोड ३१ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यस्तो खर्च ६१ करोड ४९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा खर्च १.३३ प्रतिशतले बढेको छ।
तेस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। अघिल्लो वर्ष कर्मचारीको तलबभत्तामा ५६ करोड ४२ लाख रुपैयाँ खर्च गरेको यो कम्पनी समीक्षा वर्षमा ५५ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा खर्च १.९४ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कर्मचारी तलबभत्ताको खर्च घटाउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र नेसनल इन्स्योरेन्स छन्। खर्च बढेका कम्पनीहरुमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सँगै शिखर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, ओरिएन्टल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स छन्।
ओरिएन्टल इन्स्योरेन्सको कर्मचारीको तलबभत्तामा जाने खर्च अघिल्लो वर्षको तुलनामा ७१.५९ प्रतिशतले बढेको छ। यो वृद्धिदर निर्जीवन बीमकहरुमध्येमा ओरिएन्टल इन्स्योरेन्सको सबैभन्दा बढी हो।
यसैगरी समीक्षा वर्षमा कर्मचारीको तलबभत्तामा सबैभन्दा कम खर्च गर्नेमा नेसनल इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ९ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २९.७८ प्रतिशतले कम हो।
कसको खर्च कति ?













