काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका नवनियुक्त संचालक समितिका अध्यक्ष मुनीष कुमार चान्दनाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष चान्दनाले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ गरेका हुन् ।
बैंकको संचालक समितिको साउन २७ गते बसेको ५४८औँ बैठकले भारतीय स्टेट बैंक (एस.बी.आई.) लाई प्रतिनिधित्व गरी आएका संचालक मुनीष कुमार चान्दनालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको थियो ।
अध्यक्ष चान्दना, एस.बी.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूह–२ मा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन् ।उनले हाल एस.बी.आई.को पूर्वी तथा दक्षिण एसिया, सिंगापुर, अस्ट्रेलियाको अन्तर्राष्ट्रिय बैंकिङ्ग संचालन र विश्वभर रहेका प्रमुख विदेशी सहायक बैंकहरुको लागी रणनीतिक नेतृत्व प्रदान गर्नेछन् ।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर किरण पण्डित, कार्यकारी निर्देशकहरु रामु पौडेल र दीर्घ बहादुर रावल, निर्देशक शरण कुमार अधिकारी तथा एस.बी.आई. भारतका उप–प्रबन्ध निर्देशक किशोर कुमार पोलुदासु, बैंकका संचालकहरु रितेश सिन्हा, भरत राज वस्ती र अप्सरा उप्रेती, प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत प्रबिण मुनि बज्राचार्य तथा बैंकका कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिती रहेको थियो ।












