काठमाडौं । घरेलु, साना तथा मझौला उद्यम–व्यवसाय गर्ने संख्या पछिल्लो समय बढ्दै गएको छ। तर, सफल व्यवसायी बन्न भने वित्तीय साक्षरताको अभाव देखिएको छ।
यी परिवेशमा नेपाल राष्ट्र बैंकले घरेलु, साना तथा मझौला उद्यमीलाई सफल व्यवसायी बन्न कसरी सकिन्छ भन्नेमा एउटा सचेतनामूलक वित्तीय सूचना जारी गरेको छ। व्यावसायिक सफलताका लागि वित्तीय साक्षरता अपरिहार्य तत्व रहेको राष्ट्र बैंकको भनाइ छ। ‘दर्ता नगरी व्यवसाय सञ्चालन गर्दा वा औपचारिक व्यवसाय दर्ता, सञ्चालन, विस्तार र बन्द गर्दा सही वित्तीय ज्ञान, क्षमता, व्यवहार, सोच र अनुशासन आवश्यक हुन्छ’, राष्ट्र बैंकले भनेको छ।
व्यवसायीले ध्यान दिनुपर्ने प्रमुख वित्तीय पक्ष
व्यावसायिक योजना र वित्तीय सेवाको सही छनोट
- व्यवसायको योजना, प्राथमिक पुँजी, स्रोत, साझेदारी वा अन्य विकल्प, विकल्पका फाइदा बेफाइदाको मूल्यांकन,
- व्यावसायिक आवश्यकताअनुसारको भुक्तानी र बचत सेवाको छनोट, प्रविधिमा आधारित सेवाको प्रयोग,
- व्यवसाय र व्यक्तिगत कारोबारका लागि छुट्टाछुट्टै खाताको प्रयोग।
व्यवसाय व्यवस्थापन र वित्तीय योजना
- व्यवसायको प्रकृतिअनुसार आवश्यक दर्ता, अनुमति, कर, छुट, कर्मचारी नियुक्ति, दर्ता खारेजी तथा अन्य कानुनी प्रक्रियासम्बन्धी जानकारी,
- व्यवसायको आम्दानी, खर्च, सम्पत्ति, दायित्व र लगानीको हिसाबकिताब, वित्तीय विवरण, नगद प्रवाह, लेखाको लागि प्रविधिको प्रयोगसम्बन्धी जानकारी,
- अल्पकालीन योजना, नगद आउने र जाने स्रोतहरू, बजेट निर्माण, दीर्घकालीन व्यावसायिक विस्तारको योजना, अल्पकालीन र दीर्घकालीन ऋण, साझेदारी, पुँजी योजना।
जोखिम विविधीकरण र बीमा
- उद्यमी र कर्मचारीसँग सम्बन्धित जोखिम व्यवस्थापन, अवकाश योजना र व्यक्तिगत बीमा,
- व्यवसायमा आउन सक्ने वित्तीय जोखिम, व्यावसायिक सम्पत्ति क्षतिको जोखिम, विविधीकरण तथा निर्जीवन बीमाको प्रयोग।
वित्तीय परिवेश
- आर्थिक, राजनीतिक, सामाजिक, प्रविधि, प्रतिस्पर्धा, नियमलगायत बाह्य प्रभावले व्यवसायको बजार, आम्दानी, खर्चमा पर्ने प्रभावसँगै व्यापारिक ढाँचा सुधार, नवप्रवर्तन,
- व्यावसायिक वित्तीय ग्राहकका अधिकार, गुनासो गर्ने निकाय र संरक्षणको व्यवस्था,
- व्यवसाय तथा वित्तीय सेवा छनोटको लागि आधिकारिक र निष्पक्ष सूचना तथा सल्लाहको स्रोत, निरन्तर क्षमता अभिवृद्धि।
सक्षम उद्यमी दिगो रोजगारी सिर्जना, नवप्रवर्तन र आय विस्तारको आधार रहेको राष्ट्र बैंकले जनाएको छ।












