काठमाडौं । फ्रान्सको सर्वोच्च अदालतले १५ वर्ष मुनिका बालबालिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारको निर्णयलाई उल्ट्याएको छ। अदालतले सामाजिक सञ्जाल प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन गर्ने फैसला सुनाएको छ।
फ्रान्सेली सांसदहरुले गत जुलाईमा सामाजिक सञ्जाल प्रतिबन्धसँग सम्बन्धित कानुनलाई समर्थन गरेका थिए। जसले गर्दा बालबालिकाको मानसिक स्वास्थ्यमा यसको नकारात्मक प्रभावका बारेमा चिन्ता भएपछि यी प्लेटफर्मबाट बालबालिकालाई रोक्ने यो पहिलो युरोपेली देश बनेको थियो।
गत जुन फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सेप्टेम्बरदेखि चरणबद्ध रुपमा लागू गर्ने वाचा गरेका थिए। अदालतको यो निर्णयले उनको वाचा खेर गएको छ।
म्याक्रोनले तुरुन्तै प्रधानमन्त्री सेबास्टियन लेकोर्नुलाई अदालतका सबै बुँदालाई ध्यानमा राखेर नयाँ मस्यौदा तयार गर्न सुझाव दिएका छन्। –एजेन्सी












