काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले तीनवटा आमऔषधिहरुलाई क्यान्सरजनक समूह १ का रुपमा वर्गीकृत गरेको छ। यसको अर्थ तिनीहरुको प्रयोगले क्यान्सरको जोखिम बढाउन सक्छ।
हाई ब्लड प्रेसर, फंगल इन्फेक्सन र अर्गन ट्रान्सप्लान्ट रिजेक्सनको उपचार गर्न प्रयोग गरिने ती औषधि विश्वभरका लाखौँ मानिसले प्रयोग गर्छन्। विज्ञहरुले जोड दिन्छन् कि यो वर्गीकरणले केवल जोखिम पहिचान गर्दछ र बिरामीहरुले डाक्टरसँग परामर्श नगरी उपचार बन्द गर्नु हुँदैन।
हाइड्रोक्लोरोथियाजाइड
डब्ल्यूएचओको क्यान्सर अनुसन्धान एजेन्सी इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी) द्वारा गरिएको एउटा अध्ययनमा ती औषधिबाट हुने जोखिम पहिचान गरिएको थियो। आईएआरसीले हाइड्रोक्लोरोथियाजाइडले स्क्वामस सेल कार्सिनोमा र ओठको क्यान्सर निम्त्याउन सक्छ भन्ने पर्याप्त प्रमाण रहेको जनाएको छ। स्क्वामस सेल कार्सिनोमा छालाको क्यान्सरको दोस्रो सबैभन्दा आम प्रकार हो।
अमेरिका र डेनमार्कमा गरिएको अध्ययनले लामो समयदेखि हाइड्रोक्लोरोथियाजाइड प्रयोग गर्ने बिरामीहरुमा छालाको क्यान्सरको दर उच्च रहेको पत्ता लगाएको छ। यो फोटोटोक्सिसिटीको कारणले हो। यसको अर्थ यो औषधिले छालाको अल्ट्राभायोलेट (यूभी) विकिरणप्रति संवेदनशीलता बढाउँछ। जसले गर्दा घामको सम्पर्कमा आउँदा डीएनए क्षति हुने जोखिम बढ्छ।
भोरिकोनाजोल
भोरिकोनाजोल लामो समयसम्म प्रत्यारोपण गरिएका बिरामीमा स्क्वामस सेल छालासँग पनि सम्बन्धित छ। यो फोटोटोक्सिक संयन्त्रको कारणले पनि हो। यो औषधिले केही प्रकारका छालाको क्यान्सरलाई बढावा दिन्छ।
ट्याक्रालिमस
ट्याक्रोलिमसलाई नन–हजकिन लिम्फोमा र प्रत्यारोपणपछिको लिम्फोप्रोलिफेरेटिभ विकारसँग जोडिएको छ। ल्युकेमिया र छालाको कार्सिनोमाको प्रमाण सीमित छ। यसको जोखिम प्रतिरक्षा प्रणालीको दमनसँग सम्बन्धित छ। जसले शरीरको असामान्य कोशिकाहरुलाई हटाउने क्षमतालाई कमजोर बनाउँछ। – एजेन्सी












