काठमाडौं । त्रिभुवन विश्वविद्यालय सामान्य प्रशासन महाशाखाले बहुवर्षिय योजना अन्तर्गत निर्माण सम्पन्न भएको “त्रि.वि.म्याथम्याटीकल साइन्सेज भवन” लाई हस्तान्तरण गरेको छ । उक्त भवनको कुल लागत रकम जम्मा १२ करोड एक्काईस लाख तिन हजार सात सय सत्सठ्ठी रुपैयाँ रहेको थियो । २०७२ साल भदौ २४ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी एट्लास/सत्येश्वर/ कविन्द्र जे.भी.सङ्ग सम्झौता भएको थियो ।
२०७६ साल भदौ ९ गते भवनको निर्माण कार्य सम्पन्न भई त्रि.वि. रजिष्ट्रार कार्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयलाई पत्राचार गरेकोमा उक्त भवनलाई स्कूल अफ म्याथम्याटीकल साइन्सेज लाई हस्तान्तरण नगरीे गणित केन्द्रिय विभाग, तथ्याङ्कशास्त्र केन्द्रिय विभाग र कम्प्युटर साईन्स तथा सुचना प्रविधि केन्द्रिय विभागलाई हस्तान्तरण गरेको थियो ।
हस्तान्तरण भएको ४ वर्ष सम्म पनि उक्त विभागहरुले प्रयोगमा नल्याए पश्चात उक्त भवनमा सेन्ट्रल ल्याव बनाउने निर्णय भएको थियो । एकातिर गणित विज्ञान स्कूलको नाममा बनेको भवन विगत ७ वर्ष देखी कहाली लाग्दो जीर्ण अवस्थामा रहेको र अर्कोतिर गणित विज्ञान स्कूलले नियमित कक्षा सञ्चालनको लागि दिनप्रति दिन त्रि.वि.लाई हारगुहार गरिरहेको थियो ।
उक्त भवन हामीलाई उपलब्ध गराउन सकिन्न भने स्कूल आफैले भवन बनाउछ जग्गा उपलब्ध गराईदिनुस भनेर त्रि.वि. कार्यकारी परीषदलाई पत्राचार गर्दा विगत २०८२/११/०५ गतेको त्रि.वि. कार्यकारी परिषदको वैठकले उक्त भवन स्कूलको साथै गणित, तथ्याङ्कशास्त्र र कम्प्युटर केन्द्रिय विभागले स्वामित्व लिने गरी निर्णय गरेकोले निर्माण सम्पन्न भएको लामो समयपछि प्रयोगमा आउने जानकारी गणित विज्ञान स्कूलका नि.निर्देशक केशव राज फुलाराले जानकारी दिए ।
गणित केन्द्रिय विभागका विभागीय प्रमुख प्रा.डा.चेतराज भट्ट, तथ्याङ्कशास्त्र केन्द्रिय विभागका विभागीय प्रमुख माधव कुमार भुषाल र कम्प्युटर केन्द्रिय विभागका विभागीय प्रमुख डा.धिरज केदार पाण्डे र स्कूलका निर्देशक केशव राज फुलारालाई त्रि.वि.सामान्य प्रशासन महाशाखा प्रमुख राज बहादुर राईले आज एक कार्यक्रम विच उक्त भवन हस्तान्तरण गरे ।
भवन हस्तान्तरण पश्चात जतिसक्यो चाँडै भवनलाई मर्मत गरी अत्याधुनिक कक्षाकोठा लगायत सेमिनार हलको व्यवस्था गरी सर्ने तयारी रहेको निर्देशक फुलाराले जानकारी दिएका छन् । गणित विज्ञान स्कूलमा विश्वमै निकै माग भएको स्नातक तहको एक्चुअरियल साईन्स र डाटा साईन्स तथा स्नातकोत्तर तहमा डाटा साईन्स कार्यक्रमको अध्यापन भइरहेकोछ ।
विगत १० वर्ष देखी जनप्रशासन क्याम्पसमा कक्षा सञ्चालन हुदै आएको गणित विज्ञान स्कूल आफ्नै भवनमा सर्न लागेकोमा खुशी व्यक्त गर्दै अत्याधुनिक फर्निचर सहित आफ्नो भवनमा सर्न त्रि.वि.का निमित्त रेक्टर एंव विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीन प्रा.डा. शंकर प्रसाद खनालले निर्देशन दिए ।












